Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा खेलकुद विकास बोर्डको सदस्यसचिव बन्न एमाले नेताको दौडधुप



बायाँबाट क्रमश : प्रभात विक्रम कटुवाल, जीवन श्रेष्ठ र सन्तोष वान्तवा

विराटनगर : कोशी प्रदेश सरकारको गत जेठ ३ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काली खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गर्यो ।

मन्त्रिपरिषद् बैठकले वाग्लेलाई हटाउने निर्णयविरुद्ध वाग्लेले बिहीबार अर्थात जेठ ४ गते प्रदेश सरकारलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराए । वाग्लेले दर्ता गरेको रिटमाथि उच्च अदालत विराटनगरले सदस्यसचिवबाट वाग्लेलाई कोशी प्रदेश सरकारले हटाइएको पत्र कार्यावयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतले जेठ ११ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

तर, सरकारले बर्खास्त गरेको सदस्यसचिवको छिनोफानो नहुँदै प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिव बन्न सत्तारुढ दल नेकपा एमालेका नेता तथा कार्यकताहरुको दौडधुप सुरु भएको छ ।

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै उनलाई सामाजिक विकास मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो । तर, तोकिएको समयभित्र वाग्लेले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएकाको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

वाग्ले तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव नियुक्त भएका थिए ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालतमा मुद्धा विचाराधिन रहे पनि यतिबेला प्रदेशमा खेलकुद विकास बोर्डको सदस्यसचिव बन्नका लागि लबिङ सुरु भएको छ । सदस्यसचिवका लागि झापको भद्रपुर नगरपालिकाका पूर्वमेयर जीवन श्रेष्ठ, एमाले मोरङ्गका सन्तोष बान्तवा, सोलुखुम्वुका डीबी रणपहेलीले लविङ सुरु गरेको बुझिएको छ ।

यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरेका प्रभात विक्रम कटुवाल पनि सदस्यसचिव बन्ने लाइनमा छन् । खोटाङ घर भएका उनी युवा संघका नेता समेत हुन् । उदयपुरका शम्भु पौडेल पनि सदस्य सचिब बन्ने दौडमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार