विराटनगर – हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा मोरङको बुढी गंगामा एकल बहुमत सहित निर्वाचित भएको नेपाली काँग्रेसमा बिद्रोह हुँदा कार्यपालिकाको चुनावमा नतिजा उलटपुलट भएको छ । ३७ जनाको नगरपरिषदमा २२ जना जितेर काँग्रेस पहिलो भएको थियो ।
त्यस्तै एमाले १० र माओवादी ५ ल्याएर दोश्रो र तेस्रो भएका थिए । तर बिहिवार भएको कार्यपालिका चुनावमा भने एमाले, माओवादी र काँग्रेसकै बागी उमेदवारले जितेका छन् ।
कार्यपालिकामा निर्वाचितबाट ४ जना र अल्पसंख्यक तथा दलितबाट २ जनाको लागि निर्वाचन भएको थियो ।
कार्यपालिकामा वडा सदस्यबाट एमालेको एक जना, माओवादीबाट १, एकजना काँग्रेसका बागी र एक जना काँग्रेसकाले जितेका छन् । त्यस्तै बाहिरबाट दुबै जना बागी काँग्रेस विजयी भए । त्यहाँ काँग्रेसको देउवा समूहले बिद्रोह गर्दै एमाले र माओवादीसँग गठबन्धन गरेको श्रोतले जनाएको छ ।
निर्वाचन अधिकृत मणिराम पोखरेलका अनुसार महिलातर्फ माओवादीकि पुष्पादेवी भगत २२ मत, एमालेकी रेखाकुमारी सरदार २२ मत ल्याएर विजयी भए ।त्यस्तै काँग्रेसकी सपना कोइरालाले १९ र चन्द्रकला चौधरीले २५ मत ल्याएर विजयी भए ।
काँग्रेसकै मिथिला आचार्यले १८ र मीनादेवी विश्वाले १४ मत ल्याएर पराजित भए । खुल्लातर्फ स्वतन्त्र लौरो चिन्हका उमेदवार किरणकुमार चौधरीले २२, गुलाफ चुनाव चिन्हका बनुलाल उराँव २२ मत ल्याएर निर्वाचित भए । काँग्रेसका जयप्रकाश मण्डल र जयप्रकाश सरदारले १३र १३ मत ल्याए ।