Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जेलर सरुवा गर्नुपर्ने माग राख्दै मोरङ कारागारका कैदीबन्दी आन्दोलनमा



विराटनगर : मोरङ जिल्ला कारागारका जेलरको सरुवाको माग राख्दै कैदीबन्दीले आन्दोलन थालेका छन् । मोरङ कारागारका जेलर धुव्रप्रसाद कोइरालालाई सरुवा गर्नुपर्ने माग राख्दै उनीहरुले सोमबारबाट आन्दोलन सुरु गरेका हुन् ।

जेलर कोइरालाले अनावश्यक दुःख दिने गरेको कैदीबन्दीहरूको भनाइ छ । बिरामी पर्दा अस्पतालसमेत जान नदिएको उनीहरुले आरोप लगाएका छन् ।

उनीहरुले केही दिनअघि मात्रै १२ जना कैदीबन्दीले आफूहरुलाई उपचारको लागि सहजीकरण गरिदिन माग राख्दै मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ कोशी प्रदेशसहित आधा दर्जन अधिकारवादी संघसंस्थामा पत्र पठाएका थिए । पुर्पक्षमा मोरङ कारागारमा रहेका शहेंसा सिद्दिकी अव्दुल खताव रफुल मियाँ, दिपक दास, बलबहादुर नेपाल, ओम प्रकाश मण्डल, अक्षय मण्डल, साहिद मियाँलगायतले पत्राचार गरेका थिए ।

बिरामी पर्दासमेत उपचार नपाएको भन्दै उनीहरुले टाउकोमा जेलर कालोपट्टी बाँधेर कोइरालाविरुद्ध आन्दोलनमा उत्रिएको बताएका छन् । आफूहरूले प्राप्त गर्नुपर्ने सामान्य मानव अधिकारको समेत रक्षा हुन नसकेको कैदीबन्दीहरुको भनाइ छ ।

कारागारभित्र आउने र कारागारबाट बाहिर लगिने उपभोग्य वस्तुमा जेलरले कमिसन माग्ने गरेको, उपचार गर्न जाँदा रकम माग्न पाइँदैन आदि नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार