Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ :  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

आइतबार अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे।

उक्त घटनामा प्रहरीले हालसम्म पूर्वगृहमन्त्री खाँणसहित तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका १२ जनामाथि अनुसन्धान जारी छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वसभासद् आङ्टावा शेर्पा र पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध आज मात्रै पक्राउ पुर्जी जारी भएको छ।

यसअघि पक्राउ पुर्जी जारी भएका तत्कालीन उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजितका छोरा निरज राई भने फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार