Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुर आगलागी अपडेट : २५ लाख बढीको क्षति



विराटनगर : उदयपुरको उदयपुरगढीमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति भएको छ । बिहीबार बिहान गाउँपालिका ७ हाडेवासमा स्थानीय चोकबहादुर मगरको घर र कृषि फर्ममा आगलागी हुँदा २५ लाख ८२ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार मगरले सञ्चालन गरेको टिनको बेरा, टिनको छानो भएको ५ वटा सरस्वती फुलबारी पशुपालन कृषि फर्म र उनका भाइ चित्रबहादुर मगरसमेतको काठको बेरा, फुसको छानो भएको गोठ जलेको छ ।

प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हो । चोकबहादुरको २ तल्ले घर र उनले सञ्चालन गरेको पशुपालन कृषि फर्मका ५ वटा टहरा पुर्णरुपमा जलेर नष्ट भएको छ । यस्तै टहराभित्र रहेका २ वटा सुंगुर, ५ तोला चाँदी, आधा तोला सुन, नगद ९० हजार र काठसमेत गरी करिब २४ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी उपरीक्षक फूयालले वताए ।

उनका भाइ चित्रबहादुरको पनि गोठ पूर्ण रूपमा जलेर नष्ट हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहान ९ बजेदेखि सुरु भएको आगलागी त्रियुगा र कटारी नगरपालिकाबाट आएका वारुणयन्त्रसहित प्रहरी र स्थानीयको सहयोगमा अहिले मध्याह्न साढे १२ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार