Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भोजपुरका पशुचौपायामा ‘लम्पी स्किन रोग’ फैलँदै



फाइल फोटो

विराटनगर : भोजपुरमा पशुचौपायामा ‘लम्पी स्किन रोग’ अर्थात् छालामा हुने गिर्खे रोगको संक्रमण देखिएको छ । सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको हाल प्रकोपकै रूपमा फैलिएको हो ।

अहिले जिल्लाका टेम्केमैयुङ, भोजपुर, पौवादुङमा, रामप्रसादराईलगायत पालिकाका ग्रामीण क्षेत्रमा यो रोगको प्रकोप बढेको छ।

हावापानी, संक्रमित पशुको सम्पर्कका साथै लामखुट्टे, झिंगा, किर्ना, भुसुनाको टोकाइबाट एकदेखि अर्को पशुचौपायामा सर्ने गरेको पौवादुङमा गाउँपालिका पशु स्वास्थ्य शाखाका पशु प्राविधिक अभिषेक खवासले बताए।

टेम्केमैयुङ गाउँपालिकाले वडा नं ३, ५, २, १ का किसानहरूलाई ५० प्रतिशत अनुदानमा भ्याक्सिन ल्याएर वितरण गरेको छ। ‘प्रकोप अत्याधिक बढेसँगै अनुदानमै भ्याक्सिन माग गरेर केहि मात्रामा वितरण गरेका छौं, पर्याप्त भ्याक्सिन ल्याउने काम भइरहेको छ, सक्दो पहल गरिरहेका छौं’, गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए।

गाई, गोरु, भैंसीमा यो रोग देखापरेको छ। यसमा पनि गाई र गोरुमा बढी संक्रमण देखापरेको बताइएको छ। संक्रमण बढेपछि पशुचौपाया मर्ने सम्भावना हुन्छ।

पशुचौपायामा लम्पी स्किन रोग देखापरेपछि किसान चिन्तित भएका छन्। यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिन्छ। यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्‍याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने जस्ता समस्या देखापर्छ।

रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ। यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ।

लम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार