Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा



काठमाडौं ।  सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्धा दायर भएको छ । उनीविरुद्ध एक करोड १५ लाख भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएको हो ।तत्कालीन उपसचिव भट्टराईले आर्जन गरेको सम्पत्तिको अनुसन्धान गर्दा एक करोड १५ लाख २९ हजार रुपैयाँको स्रोत नखुलेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

२०३८ सालदेखि २०७५ सालसम्म सरकारी सेवामा रहँदा भट्टराईले तलब भत्ता, श्रीमतीको तलब भत्ता, बाबुआमाको तलब र निवृतिभरण, सञ्चय कोष, लगानी कोष, सेयर, बैंक बचतलगायत सबै प्रकारका आम्दानी जोड्दा एक करोड ९२ लाख रुपैयाँ आर्जन गरेको अख्तियारले जनाएको छ ।तर भट्टराईको खर्च र सम्पत्ति तीन करोड सात लाख रुपैयाँ देखिएकाले आय र व्ययबीचको अन्तरको रकमलाई भ्रष्टाचार गरेको रकम मानेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

भट्टराईको एक करोड १५ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको तथा जीवनशैलीसमेत अति उच्च खालको रहेको पुष्टि भएकाले कानुनअनुसार कैद सजाय र स्रोत नखुलेको रकम जफतको माग राखिएको पनि अख्तियारले जनाएको छ ।स्रोत नखुलेको सम्पत्ति श्रीमती मुना भट्टराई, छोरा उत्सकु र छोरी प्रेरिका तथा मृत्यु भइसकेकी आमा इन्दिराका नाममा रहेकाले उनीहरू सबैलाई सम्पत्ति जफतका लागि प्रतिवादी कायम गरिएको पनि प्रवक्ता दाहालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार