Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बैशाख ९ गते लाजेहाङको अन्तिम संस्कार हुने



विराटनगर : कोशी प्रदेश खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रर्दशनमा घाइते भएर उपचारका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजेहाङ) को एक महिनापछि अन्तिम संस्कार हुने भएको छ ।

नामकरण खारेजीको माग गर्दै घाइते भएको उनको उपचारको क्रममा चैत १० गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । मोरङ बेलबारी नपा ४ लालभित्ती घर भएका पदम लिम्बुलाई संघीय सरकारले शहिद घोषणा गरेर परिवारलाई दश लाख रुपैयाँ दिने निर्णय गरेपछि एक महिनापछि बल्ल अन्तिम संस्कार हुने भएको हो ।

सरकारको उक्त निर्णयपछि कोशी नाम खारेज गरेर पुनः नामाकारण गराउन संघर्षरत संयुक्त समितिले लाजेहाङलाई पहिचानको आन्दोलनका पहिलो शहिद घोषणा गर्दै ९ बैशाखमा अन्तिम दाहसंस्कार गर्ने निर्णय गरेको छ ।

संघर्ष समितिले लाजेहाङको दाहसंस्कार गर्नुअघि विभिन्न शहरमा शव राखेर अन्तिम श्रद्धाञ्जली गरिने प्रदेश १ पुनः नामाकरण संघर्ष समितिका सदस्य अर्जुन जम्नेली राईले जानकारी दिए । बैशाख ९ गते धरान, इटहरी र विराटनगरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

मुख्यमन्त्री कार्यालय अगाडि श्रदान्जली अर्पणपछि शवलाई मोरङको बेलबारीमा लगेर अन्त्येष्टि गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार