विराटनगर । नयाँ आर्थिक वर्षका लािग सरकारले आज प्रस्तुत गरेको बजेट भाषणमा विगतको सरकारले सुरू गरेका केही योजना निरन्तरतामा परेका छन् भने केही नयाा योजना थपिएका छन् ।
संसदमा बजेट प्रस्तुत गदै अर्थमन्त्री जनार्दन अर्थमन्त्री शर्माले तमोर कोरिडोर र मेची कोरिडोर सडक निर्माणलाई निरन्तरता दिने घोषणा गरे । उनले सुनसरीको चतरा, माझीटार हुँदै ताप्लेजुङको दोभान जोड्ने तमोर कोरिडोर सडक निर्माणका लागि बजेट विनियोजन भएको बताए।
शर्माले दमक औद्योगिक क्षेत्रको निर्माणलाई निरन्तरता दिएका छन् । दमक औद्योगिक क्षेत्र निर्माण केपी ओली नेतृत्वको सरकारले ल्याएको थियो।
यस्तै, झापाको केचना हुँदै ताप्लेजुङको ओलाङचुङगोला जोड्ने मेची कोरिडोर सडकका लागि पनि बजेट विनियोजन भएको छ।
यी दुवै कोरिडोर निर्माण अघिल्ला सरकारले ल्याएका योजनाका निरन्तरता हुन्। दुवै कोरिडोर निर्माणको काम भइरहेको छ।
यसैगरि अघिल्लो सरकारले ल्याएको पूर्व–पश्चिम रेल मार्गका लागि पनि बजेट विनियोजन भएको अर्थमन्त्री शर्माले बताए। मुअब्जाका लागि बजेट विनियोजन भएको उनको भनाइ छ।
सरकारले प्रदेश १ का लागि सुनसरीको चताराबाट सगरमाथा क्षेत्र दुई घण्टामा पुग्ने गरी द्रुतमार्ग निर्माण गर्ने योजना ल्याएको छ। उनले पर्यटनको विकासका लागि सरकार यसै आर्थिक वर्षबाट द्रुत मार्गको काम शुरु गरिने बताए।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सिलगुढीदेखि चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माणका लागि बजेट विनियोजन गर्ने बताए।
यस्तै, प्रदेश १ को उदयपुर जिल्लामा पनि विमानस्थलको निर्माण प्रक्रिया शुरु गर्ने बताए। अर्थमन्त्रीले प्रदेश सरकार मातहतमा रहेको मनमोहन प्राविधिक विश्व विद्यालयका लागि बजेट बिनियोजन गरेको बताएका छन्।
उनले रानी विराटनगर धरानको सडकको स्तरोन्नती यसै वर्षमा निर्माण सकिने बताए। यसका लागि बजेट विनियोजन भएको शर्माले बताए। रानी विराटनगर धरान अन्तरगत अहिले ६ लेनको सडक निर्माण भइरहेको छ।
बजेटमा पूर्व पश्चिम सडकसँग जोड्ने झापाको जिल्ला सदरमुकाम भद्रपुर जोड्ने सडकको स्तरोन्नती गरिने बताए। उनले इलामको सन्दकपुर र झापाको पृथ्वीनगरमा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको बताए।
उनले बजेटमा विराटनगर धरान ट्रमा यातायातको सम्भाव्यता अध्यन गर्ने, कोसीको चतरामा जल यातायातका लागि टर्मिनल बनाइने बताए। सुनसरीको सुनसरी खोला उकासमा क्षेत्रमा बगर खेति तथा वृक्षरोपण गरिने उल्लेख भएको छ।
धरानमा डाटा सेन्टरका लागि सम्भाव्यता अध्ययन गरिने, ओलाङचुङगोला किमाथांकादेखि व्यवस्थित शहर निर्माणका लागि अध्ययन गर्न बजेट विनियोजना भएको अर्थमन्त्रीले बताए।
विराटनगर महानगरको प्रमुख प्राथमिकतामा रहेको केसलीया कोरिडोर निर्माण पनि संघीय सरकारको बजेटमा परेको छ। शहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत विराटनगरको केशलियामा तटबन्ध निर्माण गरी र बस्ती संरक्षण गर्न बजेट विनियोजन भएको शर्माले बताए।