Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कानूनका विद्यार्थीहरुले समाजलाई अपाङ्ग हुनबाट बचाउनुपर्छ : मुख्यमन्त्री कार्की



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानूनका विद्यार्थीहरु सामााजिक इन्जिनियर भएकाले उनीहरुले समाजलाई अपाङ्ग हुनबाट बचाउनुपर्ने बताएका छन् । मङ्गलबार विराटनगरस्थित ब्राइट भिजन ल कलेजको कार्यक्रममा बोल्दै कार्कीले कानूनका विद्यार्थीले नेपाली समाजलाई सहि बाटोमा डोर्याउन सक्ने बताए ।

आफ्नो कुरा मात्रै लागू गराउन खोज्नु र अरुको कुरालाई स्वीकार नगर्दा अपाङ्ग भइने उनको भनाइ छ । उनले भने ‘मेरा मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र पहिचान, मेरो मात्र भूगोल सबै कुरा हो भन्नुभयो भने त्यसले हामी अपाङ्ग हुने छौ । जसरी एउटा मानिस सपाङ्ग भएर अघि बढ्न उसको शरीरका सबै अङ्गहरु उत्तिकै ढङ्गले चल्न आवश्यक छ त्यही नियम समाजमा पनि लागू हुन्छ ।’

नेपालमा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले कानूनको जनशक्ति उत्पादनमा भरथेग गरेको चर्चा गर्दै उनले राज्यले पुरै लगानी गरेर भौतिक संरचना बनाइदिएका शैक्षिक संस्थाहरु दिन प्रतिदिन कमजोर बन्दै गएको बताए ।

मुख्यमन्त्री कार्कीले कानूनको राम्रो विद्यार्थी, राम्रो कानून व्यवसायी (लयर) र कानुन विषयको राम्रो शिक्षक भएर निस्कने चाहाना राखेर आफूले कानुन विषयको पढाई सुरु गरे पनि आफ्नो धेरै समय विद्यार्थी राजनीतिमा खर्चिनु परेका कारण तीनवटै कुरा पुरा गर्न नसकेको स्मरण गराउँदै नयाँ पुस्तालाई यी कुरामा जोडिन र मनन गर्न अनुरोध गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार