Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको पार्किङ निषेध हटाउन मोरङ व्यापार संघको माग



विराटनगर : मोरङ व्यापार संघले विराटनगरमा बजार क्षेत्रमा पार्किङ पूर्ण रुपले निषेध गर्दा व्यापारमा प्रतिकूल असर पर्न गएको जनाएको छ । यस्तो अवस्थामा बजार नै बन्द गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको संघले जनाएको छ ।

विराटनगर बजार क्षेत्रमा पार्किङका लागि व्यवहारिक र पर्याप्त स्थानको विकल्पबिनै यस क्षेत्रमा तत्कालै पार्किङ निषेध गर्नाले स्थानीय व्यवसायी र आम सर्वसाधारणलाई सास्ती पुगेको संघको ठहर छ । संघले प्रकासित गरेको विज्ञप्तिमा “व्यापार÷व्यवसाय ठप्प हुँदै व्यवसायीहरुमा उत्पन्न त्रासपूर्ण वातावरणका कारण यस ऐतिहासिक बजारको अस्तित्व मै प्रश्न चिन्ह खडा हुन गएको छ,” विज्ञप्तिमा भनिएको छ ।

संघले विगतमा विराटनगर महानगरपालिकालाई पछिल्लो पार्किङ नीतिबाट श्रृजना हुन सक्ने अवस्था बारे सचेत गराउँदै सो को समुचित व्यवस्थापन सम्बन्धी सुझावहरु समेत पेश गरेकोमा त्यस प्रकारको व्यवस्थापन विनै पार्किङलाई पूर्ण रुपमा निषेधित गर्नु व्यवहारिक नभएको ठहर गरिएको संघले जनाएको छ ।

विगतका विभिन्न आर्थिक जटिलताहरुका कारण कारोवारमा श्रृजित संकुचन, सीमावर्ती बजारमा हुने वैद्य÷अवैद्य कारोवार लगायत कैयौँ प्रतिकूल परिस्थितिहरुका बाबजुद जेनतेन संचालनमा रहेका विराटनगर बजारका व्यवसायहरु हाल महानगरपालिकाको पार्किङ निषेध सम्बन्धी एकतर्फी निर्णयबाट पूर्ण रुपले आक्रान्त भएको संघले जनाएको छ ।

“अतः विराटनगर बजार बन्द समेत भई सकेको यस जटिल अवस्थालाई मध्यनजर गरी विराटनगर बजारको संरक्षणका लागि विराटनगर महानगरपालिका सहित सम्बन्धित निकायलाई हालको पार्किङ निषेध सम्बन्धी व्यवस्थालाई तत्कालका लागि स्थगित गर्न, उक्त नीति लागू गर्नु पूर्व पर्याप्त पार्किङको व्यवस्थापन गर्न, त्रासदी वातावरणको अन्त्य गर्न र व्यवसायीहरुलाई हतोत्साहित गर्ने कुनै प्रकारका नीति नल्याउन जोडदार अपील गर्दछौँ” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार