Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

‘नो पार्किङ’विरुद्ध उत्रिए विराटनगरका व्यापारी, अनुगमन टोली आएपछि बजार बन्द



विराटनगर : बजार क्षेत्रमा लागू गरेको ‘नो पार्किङ’ अभियानको विरुद्धमा उत्रिएका व्यापारीले विराटनगर महानगरको टोली अनुगमनमा पुगेपछि बजार बन्द गराएका छन् ।

महानगरपालिकाले निर्णय कार्यान्वयन गराउन कडाइ गर्न शुरु गरेको छ । तर, बुधबार बजार क्षेत्रका व्यापारीले पसल बन्द गराएर महानगरको अभियानमा असहयोग गरेका छन् ।

मूल्य, तौल र गुणस्तरको विषयमा अनुगमान गर्न उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वको टोली बजार क्षेत्र पुगेसँगै व्यापारीले पसलका सर्टर तानेर बन्द गराएका छन् । उनीहरुले नारावाजी गर्दै बजार परिक्रमा गरेका छन् ।

महानगरपालिकाले जनाएअनुसार बुधबारदेखि संयुक्त बजार अनुगमन सुरु गरिएको जनाएको छ । त्यस क्रममा केही पसलहरुमा पिउने पानीको बोतलमा बिक्री मूल्य उल्लेख नगरेको पाइएको थियो । कैफियत भेटिएपछि महानगरले आनन्द स्विटलाई महानगरपालिकामा तीन दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । उपमेयर कार्कीले अनुगमनलाई थप कडाइसाथ लागू गरिने बताएकी छिन् ।

लत्ताकपडा, खाद्यान्न, सुनचाँदी, जुत्ताचप्पल, होटललगायतमा महानगरले अनुगमन गर्ने तयारीसाथ उपमेयरको टोली बजार क्षेत्र पुगेको थियो । तर, व्यापारीले बजार बन्द गरेपछि स्थगित भएको छ । महानगरका बजार निरीक्षण अधिकृत सरोजकुमार गौतमले बजार क्षेत्रको अनुगमानलाई तीव्रता दिइने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार