विराटनगर : रतुवा खोलामा निर्माण भएको पुल खोलाभन्दा धेरै छोटो छ । त्यही छोटो पुल भएका कारण झापा र मोरङका सर्वसाधारणले वर्षौदेखि समस्या भोग्दै आइरहेका छन् । पुल बनेर पनि त्यसको उचित व्यवस्थित नहुँदा नागरिकले सास्ती भोग्नु परेको हो ।
हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवामाई र झापाको गौरिगन्ज जोड्ने रतुवा खोलाको पुल बनेको करिब ७ वर्ष भयो । तर, अझैसम्म यस क्षेत्रका नागरिकले पुलको प्रयोग गर्न पाएका छैनन् । बर्खायाममा अलि ठूलो बाढी आउँदा त झन् पुलभन्दा अर्कैतिरबाट खोला बग्नेगर्छ । पुल प्रयोगबिहिन छ ।
२०६५ साल साउन १ गते तत्कालिन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए । तर, शिलान्यास भएको १५ वर्ष पुग्न लाग्दा पनि अझै पुल निर्माण सम्पन्न भइसकेको छैन् । पुल निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पुनः ठेक्का लगाएको छ ।
उक्त कार्यालयका इन्जिनियर प्रमोख खतिवडाका अनुसार साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नयाँ ठेक्का लागेर काम सुरु भएको छ ।
अहिले अलपत्र अवस्थामा रहेको पुलको लम्बाई २०५ मिटर छ । मोरङतर्फ ५० मिटर र झापातर्फ २५ मिटर थप गरेर पुलको लम्बाई २८० मिटरको हुने खतिवडाले जानकारी दिए ।
पुल निर्माण गर्न देव ऐन्ड साभर–समता–आशिष–सन्दीप जेभीले ठेक्का पाएको छ । उसले २२ करोड १२ लाख ३७ हजार रुपैयामा २०८२ साल असार मसान्तसम्म सम्पन्न गर्नेगरी सम्झौता गरेको हो ।
अगाडि निर्माण भएको पुलको बाहिरी भाग कमजोर भएपछि बाँध भत्किएको थियो । यसपटक पुलको बाहिरी भाग बलियो बनाउन मोरङतिर १४ सय र झापातिर ६५० मिटर तटबन्धन गर्ने निर्देशनालयले जनाएको छ । पुल निर्माणका लागि अहिले खोलामा पिलर निर्माण भइरहेको छ ।
खोलामा पुल नहुँदा उक्त क्षेत्रका स्थानीयले खोलाबाट आवतजावत गर्न कठिनाइ झेल्दै आएका छन् । अघिल्लो वर्षहरुमा स्थानीयले खोला तर्न डुङ्गा प्रयोग गर्थे ।