Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराट गोल्डकप : ६१ वर्षपछि विराटनगर विजेता



विराटनगर : घरेलु टोली विराटनगर सिटी एफसीले सातौँ संस्करणको विराट गोल्डकप हात पारेको छ । बिहीबार शहिद रंगशालामा सम्पन्न भएको फाइनल खेलमा भारतको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगरले उपाधि हात पारेको हो ।

उपाधि हात पारेसँगै विराटनगरले नगद २० लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपबिजेता बनेको पाहुना टोली लुका सकरले १० लाख १५ हजारमा चित्त बुझाएको छ ।

६१ वर्षपछि घरेलु टिमलाई जित दिलाउन विराटनगरका अफिज ओलावाले, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरे ।

पहिलो पटक देश बाहिरको प्रतियोगितामा सहभागी भएको लुका सकरविरुद्ध खेलको सातौँ मिनेटमा नै विराटनगरका अफिज ओलावालेले गोल गरेका थिए । बिलम घर्ती मगरले निकालेको लामो पासलाई अफिज ओरवाले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको विराटनगरका लागि दोस्रो हाफको ७८ औं मिनेटमा बिमल घर्तिमगरले गोल गर्दै अग्रता दोब्बर बनाए ।

यस्तै खेलको ८९ औं मिनेटमा विराटनगरका मेसुकेले गोल गरे । खेलको अतिरिक्त समयमा विराटनगरका अभिषेक गुरुङले गोल गर्दै टिमलाई ४० को जित दिलाए ।
फाइनल खेलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद ११ हजार प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । प्रतियोगितामा दुई गोल गरेका विराटनगरका अभिषेक गुरूङ सर्वाधिक गोलकर्ता बन्दा लुका सकरका चालीज क्युराको उत्कृष्ट फरवार्ड घोषित भए ।

उत्कृष्ट गोलकिपर विराटनगरका विशाल श्रेष्ठ, फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब, उत्कृष्ट मिल्ड फिल्डर विराटनगरका युका सुजुकी, उत्कृष्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ्ग र उत्कृष्ट बेस्ट कोच विराटनगर सिटीका सन्तोष न्यौपाने घोषित भए । उनीहरुले जनही २५÷२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

गत चैत ९ गतेबाट सुरु भएको सातौँ संस्करणको विराट गोल्डकपमा ८ टिमको सहभागीता रहेको थियो ।

योसँगै विराट गोल्डकपमा घरेलु टोलीले दोस्रो पटक उपाधि हात पारेको छ । यसअघि ०१८ सालको महेन्द्र गोल्डकप २०१९ आयोजक मोरङ ११ ले उपाधि जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार