विराटनगर । आज बुधबार चैते दशैं । हिन्दू धर्मावलम्वीहरु बुधबार घर घरमा तथा शक्तिपीठहरुमा दुर्गा भवानीको पूजाआजा गरी यो पर्व मनाउँदैछन् ।
हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई नेपालीहरु चैते दशैंको रुपमा मनाउने गर्दछन् । चैत प्रतिपदाका दिनदेखि सुरू हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ ।असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दू धर्मावलम्बीहरुले वर्षमा दुई पटक (असोज र चैतमा) मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई ‘बडादशैं’को रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई ‘चैते दशैं’ भनिन्छ । देशका विभिन्न शक्तिपीठहरुमा बुधबार बिहानैदेखि पूजा गर्नेहरुको भीड लागेको छ । दशैंघर तथा कोतहरुमा महाकालीको पूजा गर्ने गरिन्छ ।