Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निर्माण सम्पन्न नहुँदै ढल्यो खोटाङको बाईटार र उदयपुरको चिप्टार जोड्ने सुनकोशी पुलको टावर



विराटनगर : उदयपुर र खोटाङलाई जोड्ने सुनकोशी नदीमा निर्माणाधीन झोलुङ्गे पुलको टावर जडान गरेको केही दिनमै ढलेको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिप्टार जोड्ने झोलुङ्गे पुलको टावर निर्माण सम्पन्न नहुँदै ढलेको हो ।

सोरुङ छबिसेका स्थानीय दिपककुमार राउतका अनुसार उदयपुरतर्फ टावर जडान भएको केही दिनमै फेदैमा भाँचिएर ढलेको छ । झोलुङ्गे पुल निर्माणको काम सुरुदेखिनै गुणस्तरहीन र ढिलासुस्तीका कारण निर्माण सम्पन्न नहुँदै भाँचिन थालेको राउतले बताए ।

प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलब्ध गराएको तीन करोड ५० लाखमा निर्माणको काम सुरु गरिएको पुल चरम ढिलासुस्तीमा निर्माण भइरहेको स्थानीयहरुले आरोप लगाएका छन् ।

ठेकेदार वसन्त बुढाथोकीले ३० महिनामा सक्नेगरी २०७६ वैशाख २६ गतेदेखि पुल निर्माणको ठेक्का लिएका थिए । पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको छ ।

उक्त स्थानमा पुल नहुँदा स्थानीयले जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्नुपर्ने बाध्यता छ । ठेकेदारको लापरबाही र सरोकारवालाको वेवास्ताका कारण डिकुवा, बाहुनीडाँडा, चिप्टार लगायतका स्थानीयको दैनिक उपभोग्य समाग्री किनमेल गर्न जानसमेत अप्ठ्यारो परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार