विराटनगर : सातौँ संस्करणको विराट गोल्डकपमा साविक विजेता सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विराटनगरस्थित शहीद रंगशालामा भएको खेलमा विदेशी टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई २-१ गोलले हराउँदै एपीएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।
खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका युवराज खड्काले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सविन थापाले निकालेको पासमा खड्काले हेडमार्फत गोल गरे ।
एपीएफले सुरुवाती अग्रता लिए पनि खेलको ३३ औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा भुटानका खेलाडी कान्टे मुसाको पेनाल्टी एरियामा हेन्ड गरेपछि एपीएफले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै एपीएफका अरमान्द्र वेडमलले गोल गर्दै टिमलाई जित दिलाए ।
प्रतियोगिताका भुटानका कान्टे मुसाले पहिलो रेड कार्ड पाएका छन् । एपीएफका युवराज खड्काले डिबक्स बाहिरबाट प्रहार गरेको बल मुसाले हातले रोकेपछि उनलाई रेप्रिले रातो कार्ड दिएका थिए ।
खेलको म्यान अफ द म्याच एपीएफका अरमान्द्र बेडम घोषित भए । एपीएफले अब फाइनल प्रवेशका लागि भारतको लुका सकर र संकटा क्बल बीचको बिजेता टिमसँग खेल्नेछ ।