विराटनगर : कोशी प्रदेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता विराट गोल्डकप आजबाट सुरु हुँदैछ । विराटनगरस्थित शहीद रङ्गशालामा सुरु हुने सातौँ संस्करणको गोल्डकपको उद्धाटन खेलमा घरेलुु टिम विराटनगर सिटी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाका अनुसार गोल्डकपको उद्धाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् ।
गोल्डकपको विजेता टिमले रु २० लाख १५ हजार तथा उपविजेता टोलीले रु १० लाख २५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरीसहित सङ्कटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटी एफसीको सहभागिता रहनेछ ।
यस्तै दुई विदेशी क्लबहरु पनि प्रतियोगितामा सहभागी हुनेछन् । भारतको लुका सकर क्लब र भुटानको ड्ररुक लयुल फुटबल क्लब प्रतियोगितामा सहभागी हुनेछन् ।
गोल्डकपमा विधागत खेलाडीलाई जनही रु २५ हजार तथा प्लेयर अफ द म्याचलाई रु ११ हजार पुरस्कार प्रदान गरिनेछ ।