Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेले बहिष्कार गरेपछि इटहरीको १२ औँ नगरसभा अनिश्चितकालको लागि स्थगित



विराटनगर : इटहरी उपमहानगरपालिकाको १२ औँ नगरसभा अनिश्चितकालको लागि स्थगित भएको छ । शुक्रबार अबेरसम्म चलेको नगरसभा अनिश्चितकालको लागि स्थगित भएको इटहरीकी उपप्रमुख संगिता चौधरीले जानकारी दिइन् ।

कर्मचारीको आचार संहिताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा दिनभर छलफल भएपनि त्यो छलफलको निर्णय अन्य सदस्यहरुलाई प्राप्त नभएपछि सभा स्थगित भएको उनले बताइन् । सदस्यहरुले विरोध गरेपछि आफूहरु छलफलमा जुट्दै गर्दा नगरप्रमुख हेमकर्ण पौडेलले बैठक अनिश्चितकालका लागि सभा स्थगित गरेको घोषणा गरेको उनको भनाइ छ ।

नेकपा एमालेका सदस्यहरुले नगरसभाको विरोध गरेका थिए । दिउँसो १ बजेका लागि निर्धारित नगरसभा एमालेका जनप्रतिनिधिसँग सहमतिका लागि भन्दै छलफल लम्बिए पछि साँझ ७ बजे अनिश्चितकालको लागि स्थगन भएको घोषणा भएको थियो ।

नगरसभाबाट निर्णय भएको विषयमा प्रत्येक सदस्यको हातहातमा पुगेपछि मात्र सभा सञ्चालन हुने चौधरीले बताइन् ।

नगरसभा सञ्चालन भइरहेको समयमा एमालेका जिल्ला र केन्द्रीयस्तरका नेताहरुले दबाब दिएपछि सभा स्थगित भएको स्रोतको दाबी छ । पूर्वेलीप्रेससँगको कुराकानीका उपप्रमुख स्वयमले पार्टीका नेताहरुबाट दबाब आएको स्विकार गरेकी छिन् ।

इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले बैठक चलिरहेको समयमा एमालेबाट निर्वाचित सदस्यहरुले पार्टिको हृवीप आएको भन्दै आकस्मिक रुपमा नगरसभा बहिस्कार गरेर हिँडेको बताए ।

कर्मचारीले मासिक रुपमा पाउँदै आएको कर्मचारीको खाजा भत्ता तथा इन्धन सुविधा कटौती गर्ने सम्बन्धी विधेयक पारित गर्ने कार्यसूचीलाई लिएर एमालेले नगरसभा बहिष्कार गरेको उनको आरोप छ । उनका अनुसार इटहरीका करिब ४७० जना कर्मचारीको खाजा खर्च बापत वार्षिक करिब २ करोड ८२ लाख रुपैयाँ खर्च हुँदै आएको छ । इन्धन सुविधा कटौती गर्दा वर्षको १ करोड ७ लाख रुपैयाँ जोगिने पौडेलले बताए ।

एमलेले भने कर्मचारीलाई दिँदै आएको खाचा र इन्धन सुविधा कटौती गर्न नहुने माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार