यतिबेला नेपाली क्रिकेट टिमले एउटा महत्वपूर्ण सफलता हात पारेको छ । बिहीबार यूएईमाथि ऐतिहासिक जीत निकाल्नै नेपाल विश्वकपको छनोट खेलका लागि छनोट भएको छ । नेपालले अब विश्वकप खेल्नका लागि जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा बलिया राष्ट्रहरुसँग खेल्नुपर्छ ।
‘डु आर डाई’ को अवस्थामा रहेको अन्तिम खेलमा यूएईले नेपालसामु ३११ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४ ओभरमै डीएल मेथडबाट ९ रनको रोमाञ्चक जीत निकाल्दै इतिहास रच्यो ।
नेपालको जीतमा ओपनर कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुलशन झाले अर्धशतकीय इनिङ खेले । भुर्तेल ५० र भीम ६७ रन बनाएर आउँद हुँदा आरिफले खेल सम्हाले । उनी पनि ५२ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङमा आएका गुलशनले उत्कृष्ट खेल खेल्दै अवजित ५० रन जोडे । उनलाई साथ दिने क्रममा दीपेन्द्र ऐरीले अवजित १० रन बनाए ।
४० ओभरको खेल सकिँदासम्म मौसममा खराबी देखिन थालिसकेको थियो । खराब मौसम र न्यून प्रकाशका कारण अम्पायरले जतिबेलै पनि डीएल मेथडबाट निर्णय लिन सक्थे । ४० ओभर सकिँदा नेपालको २२९ रन थियो । ४१ ओभरमा नेपालले २३५ रन मात्रै बनायो । जबकी डीएल मेथडबाट निर्णय हुँदा यतिबेला नेपालले २४४ रन बनाउनुपर्ने थियो । नेपाली खेलाडीमा दबाब बढ्दै थियो । तर, ४२ औँ ओभर नेपालका लागि लक्की ओभर बन्यो । यो ओभरमा नेपालका गुलशन झाले २० रन जोडे । पहिलो बलमा रन बनाउन नसकेका उनले दोस्रो बलमा २ रन बनाए । तेस्रो बलमा छक्का प्रहार गरे । त्यसपछिका तीन बलमा लगातार चौका प्रहार गर्दै गुलशनले एक ओभरमा २० रन बनाए । अन्ततः यही ओभर नेपालको जीतमा निर्णायक बन्न पुग्यो । ४४ ओभर सकिएलगत्तै अम्पायरले डीएल मेथडबाट निर्णय लिए । जतिबेला नेपालले चाहिलेभन्दा बढी रन बनाइसकेको थियो । जीतका लागि नेपाललाई २६१ रन चाहिँदा नेपालले २६९ बनाएको थियो ।
त्यसो त पछिल्लो एक महिनामा नेपालले उम्दा प्रदर्शन मात्र गरेन, एकदिवसीय मान्यता जोगाउन धौधौ परिरहेको अवस्थामा विश्वकप छनोटमा पर्न सफल पनि भयो । लिग टु को ६ श्रृंखला सकिदा नेपाल मात्र १८ अंक जोडेर तालिकाको छैटौँ स्थानमा थियो । बाँकी रहेका १२ खेलमा नेपाललाई ७ खेल जित्नै पर्ने दबाब थियो । तर, चमत्कारी प्रदर्शन गर्दै नेपालले १२ खेलमा ११ जीत निकाल्यो ।
भुल्न नसकिने २०१४ को त्यो खेल
नेपाली क्रिकेट टिले यसअघि पनि एउटा गर्विलो इतिहास बनाएको छ । सन् २०१४ मा भएको आईसीसी टी २० विश्वकपमा छनोट हुँदै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचेको थियो ।
त्यसबेला नेपालले हङकङलाई पराजित गरेको थियो । हङकङबाट १ सय ४३ रनको लक्ष्य पाएको नेपालका लागि अन्तिम ओभरलाई १३ रन आवश्यक थियो । अर्धशतक बनाउन ४ रन बाँकी हुँदा कप्तान पारस खड्का आउट भएपछि शारद भेषवाकरको काँधमा थप जिम्मेवारी थपियो । शरदले खेलको पहिलो बलमा पहिलो छक्का र चौकासहितको सनसनीपूर्ण ब्याटिङ प्रदर्शन गरे । अन्तिम ओभरको अन्तिम बलमा ५ विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पार्यो । त्यो जीतले विश्वभरका नेपाली क्रिकेट फ्यानहरूमा ठूलो खुशीयाली छाएको थियो ।
खेल जीतेपछि तत्कालीक कप्तान खड्काले भनेका थिए, ‘यो नेपालको लागि सबैभन्दा ठूलो ऐतिहासिक जित हो र हामी बाँकी टिमसँग प्रतिस्पर्धा गर्न तयार छौं ।’

यस्ते छ नेपाली क्रिकेटको इतिहास
सर्वप्रथम नेपालमा वि.स. १९७८ बाट क्रिकेट सुरु भएको मानिन्छ । बेलायतबाट पढाइ सकेर फर्किने क्रममा तत्कालीन श्री ३ चन्द्रशमशेरका छोरा मदनशमशेरले नेपालमा क्रिकेट भित्याएको मानिन्छ ।
क्रिकेटलाई थप विकास गर्नका लागि २००४ मा नेपाल क्रिकेट संघ (क्यान) को स्थापना भयो । २०१८ सालमा राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय संघको रूपमा दर्ता पाएसँगै यसलाई नेपाली क्रिकेटको औपचारिक विकासमा ठूलो उपलब्धि मानियो ।
राजधानी केन्द्रीत र कुनै लक्षित वर्ग केन्द्रीत रहेको क्रिकेट वि.स. ०४० पछि भने राजधानीबाहिर पनि खेल्न सुरु गरियो । विकिपिडियामा उल्लेख भएअनुसार त्यस समयमा बाराको कलैया, पर्साको वीरगन्ज, धनुषाको जनकपुर, बाकेको नेपालगन्ज, रुपन्देहीको भैरहवा लगायत तराईका जिल्लाहरूमा क्रिकेट खेल्न थालिएको इतिहास छ ।
त्यसपछि विद्यालय तहमा पनि क्रिकेटको क्रेज बढ्दै गयो । खेलाडीहरुको क्रिकेटमा रुचि बढ्न थाल्यो । नेपालले वि.स. २०४४ सालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को सदस्यता पाएपछि झन् सर्वसाधरणमा क्रिकेटप्रतिको चासो बढ्दै गायो । ०४६ मा एसियाली क्रिकेट परिषद् (एसीसी) को सदस्य बनेको नेपाल २०५२ सालमा आइसीसीको एसोसिएट सदस्य बन्यो ।
सोही समयपछि नेपालले अन्तर्राष्ट्रियस्तरमा खेल खेल्न सुरु गरेको इतिहास छ । नेपाली क्रिकेटको इतिहास लामै भएपनि नेपालले पहिलोपल्ट वि.स २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसीसी ट्रफीमा सहगागि जनाएको थियो । पहिलो विदेश यात्रामा नेपाल पहिलो चरणबाटै बाहिरिएर घर फर्किएको थियो । त्यतिबेला दुई देशलाई भने नेपालले पारजित गरेको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा खेल्ने मौका पाएको नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पनि पायो । नेपालले पहिलोपल्ट २०५५ सालमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गरेको थियो ।
सन् २००० मा नेपाली यु–१९ टोली विश्वकपमा आठौं भयो । २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा युएईसँग पराजित हुँदै नेपाल उपविजेतामा सीमित भयो। त्यसलगत्तै नेपालले इमर्जिङ नेसन्स कपको आयोजना गर्यो । जहाँ भुटान र माल्दिभ्सलाई हराएर नेपालले उपाधि आफ्नो पक्षमा पार्यो ।
विश्व क्रिकेटको मुख्य संरचना मानिने विश्व क्रिकेट लिगमा डिभिजन २ को मान्यता जोगाउन नसकेपछि पुनः सन् २०१० बाट डिभिजन ५ को प्रतिस्पर्धामा उत्रियो । २०१२ मा डिभिजन ४, अर्को वर्ष डिभिजन ३ जितेर नेपालले डिभिजन २ को च्याम्पियनशिप खेल्यो। २०१३ मा ऐतिहासिक एकदिवसीय क्रिकेटको मान्यता प्राप्त र्गयो ।
सन् २०१४ जुनदेखि २०१५ आइसीसी विश्व टि–२० छनौट प्रतियोगितासम्म आइसीसीले नेपाललाई टि–२० अन्तर्राष्ट्रियको मान्यताप्राप्त टिमको श्रेणीमा राखेको थियो। २ वर्षअघि जिम्बावेमा भएको विश्वकप छनौटमा सातौ भएको नेपाल सन् २०२२ सम्म एक दिवसीय मान्यता प्राप्त देश बनेको छ । नेपालले अहिले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बलियो उपस्थीति जनाउन थालेको छ ।

छनोटमा को–को ?
अब नेपालले विश्वकप छनोटका लागि नेपालले लिग–२ कै दुई टिम, सुपर लिगबाट आएका पाँच टिम र प्लेअफबाट आएका दुई टिमसँग खेल्नेछ । लिग–२ बाट नेपालसँगै स्कटल्यान्ड र ओमानले स्थान बनाइसकेका छन् । यसै महिना हुने प्लेअफमा क्यानडा, जर्सी, नामिबिया, पीएनजी, यूएई र अमेरिकामध्ये दुई टिम आउने छन् । यस्तै सुपर लिगबाट पुछारका पाँच टिम आउने छन् ।
के हो डकवर्थ–लुइस प्रणाली ?
डकवर्थ–लुइस प्रणाली क्रिकेट खेलहरूमा पानी परेमा के गर्ने भन्ने वैकल्पिक नियमहरूको प्रतिस्थापनको रूपमा १९९० मा आविष्कार गरिएको थियो। सन् १९९२ मा दक्षिण अफ्रिकाले विश्वकपमा स्थान बनाएको अनुचित वर्षाको नियमपछि डीएल मेथड सुरु गरिएको थियो ।
यो एउटा गणितीय सूत्र हो, जसमा वर्षा वा ब्याड लाइटले रोकिएको खेलको ओभर र लक्ष्य घटाएर नयाँ लक्ष्य तय गरिन्छ । लक्ष्य पछ्छाइरहेको टिमलाई नियमअनुसार तय भएको नयाँ लक्ष्य दिइन्छ, जसमा मुख्यतः बचेको ओभर र विकेट दुवैलाई ध्यान दिइन्छ ।
यस नियमअनुसार विकेट र ओभर दुवैलाई रिसोर्स मानिन्छ । इनिङको सुरुवातमा दुवै टिमसँग रहेको १० विकेट र ५० ओभरलाई १०० प्रतिशत रिसोर्स मानिन्छ । यो सूत्रअनुसार बाधा भएको खेल अवधिमा कुन टिमले कति रिसोर्स खर्च र्गयो भन्ने तय गरिन्छ । एक विकेट वा एक ओभरलाई रिसोर्स प्रतिशतमा बदल्न लिमिटेड ओभर क्रिकेटको स्कोरिङ ढाँचालाई प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा रिसोर्स भेल्यु एक कम्प्युटर प्रोगामको माध्यमबाट तय गरिन्छ, जो सार्वजनिक छैन ।

मदनशमशेर सहितको क्रिकेट टोली, वि.संं १९७० ताका ।