विराटनगर : त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकपको विजेत ाबनेको छ । मंगलबार मेची रंगशालामा भएको फाइनल खेलमा मछिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा आर्मीले ४–३ गोलले मछिन्द्रलाई हराएको हो ।
पेनाल्टीमा मछिन्द्रका दिवाकार चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरे पनि रेजिन धिमाल र देवेन्द्र तामाङले प्रहार गरेको बल आर्मीका गोलरक्षक समित श्रेष्ठले बचाए ।
आर्मीका दिपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गर्दा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले सेसेहाङ आङदाम्बेको मात्रै बल छेक्न सफल भए ।
जीतसँगै प्रतियोगिताको विजेता बनेको त्रिभुवन आर्मी क्लबले नगद १३ लाख पाएको छ । आर्मीसँग पराजित भएर दोस्रो बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ ।
प्रतियोगितामा विभिन्न विधाहरुमा उत्कृष्ट हुनेलाई नगद २५ हजार प्रदान गरेको आयोजकले जनाएको छ । आर्मीका समित श्रेष्ठ (उत्कृष्ट गोलरक्षक), मछिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी (सर्वाधिक गोलकर्ता), मछिन्द्रका सौरव राई (उदीयमान खेलाडी), र आर्मीका राजु तामाङ उत्कृष्ट प्रशिक्षक घोषित भए ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका मछिन्द्रका कप्तान सुजल श्रेष्ठले नगद एक लाख रुपैयाँ पाएका छन् ।