विराटनगर : पछिल्लो समय सुनसरीबाट अत्याधिक लागूऔषध गाँजा बरामद हुन थालेको छ । सोमबार रातीमात्रै सशस्त्र प्रहरी बलले दुई सय ५८ किलो गाँजा बरामद गरेको छ ।
सशस्त्रको वसन्तपुर बीओपीबाट खटिएको गस्ती टोलीले हरिनगर गाउँपालिका– ५ नरकटियाबाट उक्त गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीका अनुसार हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट सोमबार राति १२ बोरा प्रतिबन्धित गाँजा बरामद भएको हो । सहायक प्रहरी निरीक्षक सुमन रानाभाटको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको थियो ।
सशस्त्रले शंकास्पद लागेपछि घुस्कीतर्फ जाँदै गरेको बिआर १ ए के ७१०० नम्बरको भारतीय स्कारपियोलाई चेकजाँच गर्दा उक्त गाँजा फेला पारेको थियो ।
सशस्त्र प्रहरीले गाँजा र स्कारपियो नियन्त्रणमा लिए पनि गाडी चालक भने फरार भएका छन् । प्रहरीले उनको खोजी कार्य तीव्र पारेको बताएको छ ।
बरामद गरेको उक्ता गाँजा सशस्त्रले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको छ ।