विराटनगर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पतनोन्मुख यात्रामा रहेको बताएका छन् ।
छोटो समयमा एमालेसँगको सहमति तोडेर प्रचण्डले नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने निर्णय लिएपछि पोखरेलले यस्तो बताएका हुन् । गत पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेला एमालेले राष्ट्रपति पाउने सहमति भएको थियो ।
तर, त्यसको दुई महिना बित्न नपाउँदै प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने भन्दै एमालेसँगको सहमति तोडेर आठ दलीय नयाँ गठबन्धन खडा गरेपछि पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले प्रचण्डका गतिविधिले आफै पतनको बाटोमा रहेको उदाहरण प्रस्ट हुने बताए । उनले लेखेका छन्, ‘उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपंथी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा ।’