विराटनगर : सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ।
गत बिहिबार उनले विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित सर्वाेच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।
गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले उनलाई यूएई जान रोक लगाएपछि उनले निवेदन दिएका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार लामिछाने १५ दिनभित्र स्वदेश फर्किएर अदालतमा हाजिर हुनुपर्ने शर्त राखिएको छ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि सन्दीपबिनाको टिम घोषणा गरेपछि उनी अदालत पुगेका थिए ।
एक नाबालिक बालिकालाई बलात्कार गरेको आरोप लागेपछि क्यानले सन्दीपलाई गत भदौ २३ गते राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।
नाबालिक बालिकालाई बलात्कार गरेको आरोप लागेपछि उनलाई प्रहरीले करिब ६ महिना हिरासतमा राखेको थियो । उनीविरुद्ध लागेको बलात्कार मुद्दा अझै पनि जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
तर, उच्च अदालत पाटनले गत पुस १८ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार थुनामुक्त भए पनि उनलाई विभिन्न शर्तमा छाडिएको थियो । उक्त सर्तमा उनलाई विदेश जान रोक लगाइएको थियोे ।