विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाले बजार क्षेत्रमा डोजर चलाएको छ । सडक विस्तारका लागि उपमहानगरले सडकको नक्साभित्र परेका घरहरु भत्काएको हो ।
विराटनगरको रानी–किमाथाङ्का व्यापारिक मार्ग विस्तारआयोजनाअन्तर्गत इटहरी बजार क्षेत्रमा सडक नक्साभित्र परेका घरहरु भत्काउन पटकपटक ताकेता गरेपनि अवज्ञा गरेपछि आफै भत्काउन बाध्य भएको इटहरीका मेयर मेयर हेमकर्ण पौडेलले बताए ।
मुख्य राजमार्ग आसपास सडक क्षेत्राधिकारभित्र पर्ने इटहरी उपमहानगरपालिका ६ का ३४ घर भत्काउन यसअघि नै उपमहानगरले सूचना जारी गरेको थियो । तर, घरधनीहरुले अटेर गरेपछि पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी अनाधिकृत संरचना भत्काएको हो ।
सडक मिचेर बनाइएका अनाधिकृत संरचनाकै कारण ६ लेन सडक विस्तार गर्न समस्या भएको थियो । पालिकाले पटकपटक जारी गरेको सूचना नटेर्दा इटहरीको मुख्य बजार क्षेत्रको चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन् ।
विराटनगर लाइन र वडा नम्बर ९ मा पर्ने सडक क्षेत्राधिकारका घरहरू यसअघि नै खाली भइसकेको छ ।