विराटनगर : विराटनगरमा लागूऔषधको कारोबारमा प्रहरीकै संलग्नता भएको पाइएको छ । बुधबार ब्राउन सुगर (खैरो हेरोइन) कारोबारमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका हुन् । भारतबाट खैरो हेरोइन नेपाल ल्याउन उनले भरियाको प्रयोग गरेको आरोप छ ।
प्रहरीले खैरो हेरोइनसहित विराटनगर–१५ का २० वर्षीय नजाम खान पक्राउ परेपछि प्रहरीको संलग्नता भएको खुलेको थियोे । खानको साथबाट प्रहरीले १ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियोे ।
खान पक्राउ परेपछि प्रहरीले उनलाई सोधपुछ गर्दा प्रहरी सहायक हवल्दारले आफूलाई भरियाका रुपमा प्रयोग गरेको बताएका थिए ।
यादवको संलग्नता भएको पाएपछि लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले मंगलबार विराटनगर–१३ स्थिति झमेली चोकबाट उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरू विरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन तयारी गरिएको छ ।