Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अरुण तेश्रोको सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा एक कामदारको मृत्यु



निर्माणाधीन अरुण तेश्रो जलविद्युत आयोजना

विराटनगर : संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेश्रो जलविद्युत आयोजनामा कार्यरत एक जना कामदारको मृत्यु भएको छ । आयोजनाको पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको हो ।

मंगलबार राति ३ बजे सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर तामाङ घाइते भएका थिए । घाइते भएका उनको उपचारका क्रममा मंलबार बिहान जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको हो ।

सुरुङ भत्किएर दुर्घटना हुँदा अन्य दुई कामदार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पताल संखुवाभामा उपचार भइरहेको छ । उनीहरुको हात र खुट्टामा चोटपटक लागेको छ । अहिले घाइते दुवैको अवस्था सामान्य रहेको बताइएको छ । परियोजनामा नेपाली र भारतीयसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार