विराटनगर : संखुवासभामा आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रेम कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको भोटखोला गाउँपालिका ५ का ७३ वर्षीय गोठे राईको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
गत शुक्रवार राती करिब ११ बजे बाबु छोराबिच सामान्य घरायशी विवाद भएको थियो । विवाद बढ्दै गएपछि छोराले बुबालाई लाठीले कुटपिट गदाई गोठे राई (बुबा) घाइते भएका थिए ।
कुटपिटबाट घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
गोठे राईको मृत्यु हुने बित्तिकै प्रहरी चौकी स्याक्सिगोलाबाट खटिएको प्रहरी टोलीले प्रेम कुमार राईलाई पक्राउ गरेको हो ।
हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।