Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

महोत्सवमा अत्याधिक भीडका कारण ठेलमठेल हुँदा ३० जना घाइते, सबैको अवस्था सुधारोन्मुख



विराटनगर : धनकुटा महोत्सवमा शनिबार अत्याधिक भीडका कारण ठेलमठेल हुँदा च्यापिएर ३० जना घाइते भएका छन् । उद्योग वाणिज्य संघले आयोजना गरेको एभोकाडो तथा पाँचौं धनकुटा महोत्सव स्थलमा एकैपटक ठूलो संख्यामा मानिसहरु प्रवेश गरेपछि ठेलमठेलको अवस्था सिर्जना भएको हो ।

महोत्सवको मुख्य आकर्षक चर्चित गायक प्रमोद खरेल थिए । आफ्नो प्रस्तुुतिका लागि उनी स्टेट आउन लाग्दा एक्कासी गेट बाहिर भएका दर्शकहरु भित्र प्रवेश गर्न खोज्दा ठेलमठेल भएको थियो । त्यही क्रममा किच्चिएर उनीहरु घाइते भएका हुन् ।

खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते भएकाहरुमध्ये १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य १८ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । तर, दुई जना बालकको अवस्था गम्भीर रहेकाले दुवैको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

धनकुटा नगरपालिका –५ का ३१ वर्षीया विष्णु राईका ६ वर्षीया छोरा आबिहाङ लिम्ब र अर्का ३ वर्षीय बालक सोनाम लिम्बूको विराटनगरमा उपचार भइरहेको छ । अहिले बिपी प्रतिष्ठान र विराटनगरमा उपचाररत सबैको अवस्था सुधारोन्मुख भएको अस्पताल स्रोतले जनाएको छ ।

ठेलमठेलमा परी धनकुटा–५ का ३१ वर्षीया विष्णु राई, ४५ वर्षीया गोमा कार्की २२ वर्षीया अनिषा राई, ४० वर्षीय नारायण राई, धनकुटा–७ का ६ वर्षीय प्रकट श्रेष्ठ, ३३ वर्षीया बुद्दिमाया लिम्बू, १७ वर्षीय सबिन पौडेल र ४० वर्षीय सन्दिप साह घाइते भएका छन् ।

यस्तै धनकुटा–४ का १२ वर्षीय प्रवेश राई, धनकुटा–५ की १२ वर्षीया श्रेया कटुवाल, ३० वर्षीया बिनिता लिम्बू, १३ वर्षीय सबिन लिम्बू, ११ वर्षीय सुनिल लिम्बू, धनकुटा–७ की ३६ वर्षीया हिरा राना, ३० वर्षीया अनुषा राई, र ५० वर्षीय प्रकाश प्रधान घाइते भएका छन् ।

गत माघ ६ गतेबाट सञ्चालनमा आएको महोत्सव तत्कालका लागि आयोजकले स्थागन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार