खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका इन्जिनियर घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आठौं तहका इन्जिनियर योगेन्द्र ढुंगेललाई पक्राउ गरेको हो।
अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार झापा दमक नगरपालिका-१ घर भई हाल भक्तपुर बालकोट बस्ने ४६ वर्षीय ढुंगललाई बिहीबार विभागको कम्पाण्डबाटै पक्राउ गरिएको हो। उनको साथबाट एक लाख ५० हजार रुपैयाँ घुस रकम बरामद गरिएको भण्डारीले बताए।
खानेपानीको जार तथा मिनरल वाटर बिक्री वितरणका लागि अनुज्ञा पत्र लिनुपर्ने व्यवस्था बमोजिम प्रक्रिया पूरा गर्न जाँदा ढुंगेलले घुस मागेको अख्तियारले जनाएको छ।समयमा काम नगरी दु:ख-हैरानी दिने गरेपछि पीडितले अख्तियारमा उजुरी गरेका थिए।
कार्यकक्षमा एक लाख ५० हजार रुपैयाँ लिएपछि कम्पाण्डबाट बाहिर निस्किने क्रममा उनलाई पक्राउ गरिएको भण्डारीले बताए। ढुंगेललाई हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए।