Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज सरस्वती पूजा, देशभर विद्याकी देवीको आराधना गरिँदै



विराटनगर : वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ।ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ।

यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह  जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।।

प्रथमं भारती नाम द्धितीयं च सरस्वती।।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।।
सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।।

नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।।
जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती।।५।।

प्रतिक्रिया
सम्बन्धित समाचार