Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आचार्यको निधनपछि गृहमन्त्री लामिछानेले भने – यसमा हामी दोषी छौँ, म दोषी छु



काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताउँदै त्यसलाई रोक्न नसकेकोमा दुःख लागेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘एउटा नागरिकले  अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  हो ।’

नयाँ राजनीतिक दल र नेताको रुपमा आशा जगाउन नसकेको समेत उनले लेखेका छन् । ‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु’, लामिछानेले लेखेका छन्, ‘प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला।’

लामिछानेकै पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनेकी डा. तोशिमा कार्की मंगलबार साँझ अस्पताल पुगेका बेला पनि उनले लामिछानेलाई आफ्नो बारे भनिदिन भनेका थिए । संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको आज निधन भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान पाँच बजे निधन भएको डा. किरण नकर्मीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार