विराटनगर : मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट डेढ वर्षीया नाबालिकाको मृत्यु भएको हो । मंगलबार दिउँसो सुन्दरहरैँचा नगरपालिका–१२ स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ६८२५ नम्बरको टिपरले ठक्कर दिँदा नाबालिकाको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार टिपरले ठक्कर दिँदा स्थानीय अजित चौधरीकी १८ महिने छोरी अननिया चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले टिपर चालक केराबारी गाउँपालिका–१० का राजकुमार लिम्बूलाई नियन्त्रणमा लिएको श्रेष्ठले जानकारी दिए। स्थानीयका अनुसार टिपर तीव्र गतिमा थियो । चालकको लापरबाहीले गर्दा दुर्घटना भएको भन्दै स्थानीय शव उठाउन मानेका छैनन् ।
स्थानीयले विरोध कढाउँदै गएपछि घटनास्थलमा ठूलो संख्याका प्रहरी परिचलन गरिएको छ। चालकले लापरबाही गरेको भन्दै उनीहरुले दुर्घटना गराउने चालकलाई घटनास्थलमा उपस्थित गराउन माग गरेका छन् ।
बालिकाको शव सडकमै राखेर पीडित पक्षले टिपर आतंक बन्द गर्नुपर्ने, चालकलाई घटनास्थलमा ल्याउनुपर्ने, कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर प्रदर्शन गरिरहेको वडाध्यक्ष रोशन ढकालले बताए।
समस्या समाधानका लागि मृतक पक्षसँग छलफल र वार्ता भइरहेको उनले बताए ।