Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

म्याच फिक्सिङ प्रकरण – मेहबुब आलम विराटनगरको एक होटलबाट पक्राउ



विराटनगर : ‘स्पट फिक्सिङ’ को आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी मेहबुब आलम विराटनगरबाट पक्राउ परेका छन् । सोमबार दिउँसो उनलाई विराटनगर बसपार्कस्थित भिन्तुना होटलबाट मोरङ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को निर्देशनमा आलमलाई पक्राउ गरेर काठमाडौं पठाएको मोरङका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

नेपाल टी ट्वान्टी क्रिकेट लिगमा फिक्सिङ गरेको उनीमाथि आरोप छ । फिक्सिङमा अर्का राष्ट्रिय टिमका खेलाडी आदिल अन्सारी पनि पक्राउ परेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार आलमले अन्सारीलाई स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।

लिगमा खेलाडी नरहे पनि आलमले जतिन अहुवालियासँग खेलाडीहरुको सम्पर्क गराएका थिए । प्रहरीले अनुसन्धान थालेपछि अहलुवालिया फरार भएका थिए । उनी प्रतियोगिता चलिरहेकै बेला भारत भागेका थिए ।

विराटनगरस्थित कान्तिपुर कलेजले मेहबुब आलमलाई माघ १० गतेबाट सुरु हुने हिसान स्पोर्टस मिटमा प्रशिक्षकका लागि बोलाएको थियो । सप्तरीको राजविराज घर भएका आलम हिसान स्पोर्टस मिटमा आएका बेला विराटनगरबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार