Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा कार्यालयमै थुनिए जनप्रतिनिधि



विराटनगर : भोजपुरको अरुण गाउँपालिकाका जनप्रतिनिधिलाई स्थानीयले कार्यालयमा ताला लगाएर थुनेका छन् । गाउँपालिकाको केन्द्र सारेको भन्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाललगायतका सदस्यलाई स्थानीयले कार्यालयभित्रै थुनेका हुन् ।

गाउँपालिकाका जनप्रतिनिधिहरूले मनोमानी ढंगले स्थानीयबासीको हितविपरीत बहुमतको दम्भमा गाउँपालिकाको कार्यालय सार्ने निर्णय गरेपछि आक्रोशित बनेका स्थानीयले उनीहरुलाई ताला लगाएका हुन् । गाउँपालिकाको कार्यालय सार्ने विषयमा कार्यपालिकाको बैठकबाट सर्वसम्मत निर्णय नभए पनि बहुमतको आधारमा गाउँपालिकाको कार्यालय वडा नं ३, प्याउलीस्थित मरेङडाँडामा सार्ने निर्णय गरेको थियो ।

प्याउलीमा जग्गा छनौटको विषयमा विवाद थियो । हालको गाउँपालिका कार्यालयभन्दा अहिले सार्ने निर्णय गरेको स्थानबिचको दुरी २ किलोमिटर मात्र छ । अहिले पालिकाको कार्यालय भाडाको घरमा छ ।

जनप्रतिनिधिहरूले मनोमानी ढंगले स्थानीयको हितविपरीत निर्णय गरेपछि तालाबन्दी गरिएको स्थानीय पूर्ण श्रेष्ठले बताए । गाउँपालिकाले निर्णय नसच्च्याएसम्म विरोध जारी रहने उनले बताए । गाउँपालिकाको कार्यालय सार्ने विषयमा सिंगो पालिकाबासीको सहमतिका आधारमा गर्नुपर्ने स्थानीयको भनाई छ ।

गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले जग्गा छनौटका विषयमा कार्यपालिकाका बहुमत सदस्यले निर्णय गरेपनि त्यसको विरोध गर्दै स्थानीयले आफूहरुलाई कार्यालयभीत्रै तालाबन्दी गरेको बताइन् । जग्गा छनौट गर्न बसेको बैठकमा अधिकांशले मरेङडाँडामा राख्ने निर्णय गरेका थिए । तर, त्यसको विरुद्धमा स्थानीय लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार