Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मिडिया सञ्चालक खत्ताब पुर्पक्षको लागि जेल चलान



विराटनगर । नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब पुर्पक्षको लागि जेल चलान भएका छन् ।
अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेका खत्ताब मोरङ अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि खत्ताब मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
खत्ताबका कार चालक विराटनगर १५ भट्टा टोल बस्ने २५ वर्षीय अजय भन्ने जय कुमार रामलाई १ लाख धरौटिमा छोडन अदालतले आदेश दिएको उनले बताए ।
विराटनगरका उद्योगपति अरुणकुमार राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्गको मुद्दा दर्ता भएको थियो ।
राठीको अपहरण आरोप लागेपछि र जाहेरी प्रहरीमा पुगेपछि खत्ताब दुई साता फरार भएका थिए। खत्ताब र राठी विराटनगरबाट सञ्चालित अनलाइन नेपाल टाइम्सका साझेदार हुन् । खत्ताबले अन्तर्वार्ताको बहाना बनाएर राठीलाई मङ्सिर १४ गते नेपाल टाइम्सको स्टुडिओमा लगेर शरीर बन्धक बनाई १५ लाख रुपैयाँ असुलेको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार