विराटनगर : प्रदेश १ को सबैभन्दा ठुलो दल नेकपा एमालेले आज संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचित संसदहरुको बैठक बोलाएको छ ।
प्रदेशसभामा एमालेले ४० सिट जितेको छ । प्रत्यक्षतर्फ २५ र समानुपातिकबाट १५ संसद जितेको एमालेले संसदीय दलको नेता चयन गर्ने लगायतका एजेन्डामा छलफल गर्न बैठक बोलाएको बताएको छ ।
एमालेले दलको नेतामा झापा ५(१) बाट निर्वाचित भएका स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई सर्वसम्मत चयन गर्ने तयारी गरेको छ । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका कार्की प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् ।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ जना आवश्यक पर्छ । प्रदेशमा एउटै दलसँग स्पष्ट बहुमत नभएकोले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था छ ।
निर्वाचनमा गठबन्धन गरेर चुनावमा गएको सत्ता गठबन्धनको ४६ संसद छन् । एमाले र राप्रपा मिल्दा पनि ४६ संसद पुग्छन् । समानुपातिकबाट एक सिट पाएको जनता समाजवादी पार्टी (जसपा) प्रदेशमा सरकार गठनका लागि निर्णायक बनेको छ । प्रदेशमा जसपाले जता समर्थन गर्छ त्यही गठबन्धनको सरकार बन्छ ।