Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ सरकारले खेलाडीलाई सम्मान गर्ने



विराटनगर : प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौं राष्ट्रिय खेलकुदका विजेताहरुलाई सम्मान र पुरस्कृत गर्ने निर्णय गरेको हो ।

निर्वाचन आचारसंहिताका कारणले नवौं राष्ट्रिय खेलकुदका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम रोकिएको थियो ।

यस्तै मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयका कार्यविधिसहित निर्देशिका स्वीकृत गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रस्तुत सार्वजनिक सुनवाई, सार्वजनिक लेखापरीक्षण तथा सामाजिक परीक्षण कार्यविधि २०७९ स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको स्थानीय तहमा अपाङ्गता सहायता कक्ष सञ्चालन सम्बन्धी कार्यविधि २०७९ र सोही मन्त्रालयको ब्रिज कोर्श तथा भाषा शिक्षण कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७९ बैठकले स्वीकृत गरेको छ ।

यस्तै प्रदेश सरकारले पुस ४ गते सोमबार खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ४ बाक्सिला बजारमा आगलागीमा भई भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार