विराटनगर : अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले आइतबार हुने विश्वकपको फाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग आफ्नो टोली ‘अन्डरडग्स’ मै खुसी भएको बताएका छन् ।
मार्टिनेजले अर्जेन्टिना २०२१ को कोपा अमेरिका विजेता बन्दाको अनुभव र लियोनेल मेस्सीको उत्कृष्ट लयका साथ लुसेल स्टेडियममा हुने फाइनल खेल्ने बताए।
गत वर्ष रियो दि जेनेरियोको माराकाना रंगशालामा भएको फाइनलमा चिरप्रतिद्वन्द्वी ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यतिबेलाको जितको सम्झना र मेस्सीको उपस्थितिमा अर्जेन्टिना कुनै डर बिना फाइनलमा उत्रने बताए ।
उनले आफूहरु सधैँ प्रतिद्वन्द्वी टोली दाबेदार रहेको सुन्न मन पराउने बताए । ‘अघिल्लो वर्षको कोपा अमेरिकामा हामीले दाबेदार मानिएको ब्राजिललाई जित्यौं’, मार्टिनेजले भने, ‘हामी सधैं प्रतिद्वन्द्वी पनि दाबेदार भएको हेर्न चाहन्छौ ।’ फ्रान्सलाई कतिपयले दाबेदार मानिरहे पनि आफ्नो टिममा अहिलेसम्मकै उत्कृष्ट खेलाडी भएको बताए ।

‘मेस्सीका लागि फ्रान्सविरुद्धको फाइनल खेल अन्तिम विश्वकप हो, आशा छ उनको सुखद विदाई हुनेछ’, मार्टिनेजले थपे ।
गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिका जिताएर मेस्सीले खेललाई अर्को स्तरमा पुर्याएको उनले बताए। ‘मैले कोपा अमेरिकामा मेस्सीको खेल उत्कृष्ट देखेँ, एक असाधारण खेलाडी र उत्कृष्ट मध्ये उनी एक थिए’, मार्टिनेजले भने, ‘र यो विश्वकपमा उनी कोपा अमेरिकाको तुलनामा एक कदम अगाडि छन् ।’
मेस्सी शारीरिक र फुटबल दुवै हिसाबले राम्रो खेलिरहेको उनको भनाई छ ।
यस्तै अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले आइतवारको फाइनल खेल मेस्सी र एम्बाप्पेबीचको नभई फ्रान्स र अर्जेन्टिनाको हुने बताएका छन् । ‘आगामी खेल फ्रान्ससँग अर्जेन्टिनाको हुनेछ, एमबाप्पेसँग मेस्सी होइन, यो यी खेलाडीहरूभन्दा बाहिरको कुरा हो’, स्कालोनीले भने।