काठमाडौं : काठमाडौं क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौं क्षेत्र नं ४ प्रदेश सभा-२ ले आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उनले नागरिकले खोजेको परिवर्तनलाई मध्यनजर गर्दै कांग्रेसले सकारात्मक सोचका साथ नयाँपन दिनसक्नुपर्ने बताएकन हुन्।
‘अब केही दिनभित्रै सरकार बनाउनुपर्नेछ भने राष्ट्रपतिको निर्वाचन पनि आएको छ,’ उनले भने, ‘राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्नेछ।’
आफू नयाँ अवधारणा र सोचका साथ सामाजिक काम गर्ने तयारीमा रहेको र त्यसको सुरूवात काठमाडौं क्षेत्र नं ४ बाट हुने उनको भनाइ छ।
काठमाडौं क्षेत्र नं ४ प्रदेशसभा २ का पार्टी सभापति रामप्रसाद लुइँटेलले चुनावी घोषणापत्रलाई पाँच वर्षसम्म ध्यान दिएर जनतासँग गरेका वाचा पूरा गर्न सुझाव दिए।