विराटनगर : उद्योग संगठन मोरङको आयोजनामा बिहीबारबाट विराट एक्स्पो भव्य रुपमा सुरु भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एक्स्पो आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।
कार्यक्रम भव्यरुपमा उद्घाटन भएपनि उद्धाटन सत्रमा देखिएको मर्यादाक्रम अनुसारको बस्ने व्यवस्थापन र प्रदेशका मन्त्रीहरुलाई गरिएको व्यवहारप्रति केही मन्त्री भने बेखुसी भएको पाइएको छ ।
राष्ट्रपति मञ्चमा आउनुभन्दा अघि प्रदेश प्रमुख, मुख्यमन्त्रीसँगै प्रदेशका सामाजिक विकास मन्त्री राजन राई पनि पछिपछि मञ्चमा चढेका थिए । तर, उनको नाम उद्घोषकले पछि उद्घोषण गरे । मञ्चमा बस्ने ठाउँ नमिल्ने देखेपछि उनी मञ्चबाट लखरलखर तल झरेर दर्शकदीर्घामा बसेका थिए । त्यहाँ विभिन्न क्षेत्रका व्यक्तिहरुका लागि तोकेर ठाउँ राखिएको थियो ।
कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसमेत तल बसेका थिए । कार्यक्रममा ढिलो गरी आएका मन्त्री कार्की मञ्च मूनिनै बसे । उनीहरुलाई बस्नको लागि आयोजकले सहजीकरण पनि गरिरहेको थिएन् ।
राष्ट्रपति आइसकेपछि कार्यक्रममा आइपुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला भने मञ्चमाथि बसेका थिए । मञ्मा राखिएका सिमित कुर्सीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, कार्यक्रमका सभापति सुयस प्याकुरेल, व्यवसायी प्रदीप मुररका र मेला संयोजक भोलेश्वर दुलाल बसेका थिए ।
पछिल्लो समय प्रकाशित सरकारको मर्यादाक्रम अनुसार काठमाडौँ महानगरपालिकाको मेयर बाहेक प्रदेशका मन्त्रीभन्दा पछाडी अरु महानगरका मेयरहरु पदर्छन् । कार्यक्रममा सहभागी एक मन्त्रीले भने, ‘कार्यक्रममा प्रदेशका मन्त्रीहरुको भने अपमान भयो ।’
उद्योग संगठनले विराटनगरको डिग्री क्याम्पसमा लगाएको मेला भने अरु समयको मेला भन्दा फराकिलो र व्यवस्थित ढंगले गरिएको छ ।