Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा ४ सय सडकका कुकुरको बन्ध्याकरण



विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो चरणमा ४०२ वटा सडकका कुकुरको बन्ध्याकरण गरिएको छ ।

महानगरले गत सोमबारदेखि अभियान सञ्चालन गरेको थियो । पहिलो चरणको अभियान आइतबार सकिएको छ । ४ सय सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । जसमा २४० वटा मेल र १६२ फिमेलको बन्ध्याकरण गरिएको पशुपक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा गत मङ्सिर १९ गते विशेष समारोहका बिच शुभारम्भ गरिएको थियो । वडा नम्बर १८ बाहेकका सबै वडाबाट कुकुरको नियन्त्रण गरेर बन्ध्याकरण गरिएको यादवले बताए ।

विराटनगर१९ मा रहेको पशु सेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गरिएको थियो । सहारा एनिमल केयरसँगको सहकार्यमा गरिएको अभियानमा बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिएको थियो ।

दोस्रो चरणको अभियान माघमा सञ्चालन गरिने छ । दोस्रो चरणको अभियानमा महानगर र सहाराले ६–६ सय कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार