विराटनगर : सुनसरीको इटहरीमा १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको १० नम्बर वडा पिपल चौक बूढीखोला किनारमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा इटहरीका चार जना युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
गत वैशाख २७ गते वैवाहिक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा राति करिब ८ बजे इटहरी–१० की युवतीलाई सोही स्थान घर भएका २० वर्षीय धीरज चौधरी, २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी र ३१ वर्षीय सरोज चौधरीले धाकधम्की दिएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले घटनाबारे कसैलाई सुनाएमा पीडित र पीडितको घर परिवारसमेतलाई मारिदिने धाकधम्की दिँदै आएका थिए । डरत्रासका कारण सात महिनासम्म उजुरी गर्न नआएको पीडितले बयान दिएकी छन् ।
प्रहरी कार्यालयका सूचना अधिकृत तथा प्रहरी निरीक्षक भीमबहादुर खड्काले घटनाबारे जाहेरी आएसँगै आरोपी ४ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिए।
प्रहरी निरीक्षक खड्काका अनुसार हाल सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।