विराटनगर : आम निर्वाचन २०७९ को प्रतिनिधिसभा र प्रदेशसभाको सम्पूर्ण मत विवरण आइसकेको छ । प्रतिनिधिसभातर्फ १६५ सिटका लागि भएको निर्वाचनमा सबैभन्दा बढी कांग्रेसले ५७ सिट जितेको छ । नेकपा एमालेले ४४, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनतम पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ र नेमकिपाले १ सिट जितेको छ ।
५ वटा निर्वाचन क्षेत्रमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पार्टीबाट असन्तुष्ट भएका तथा पार्टीबाट निकट नपाएका ५ जना स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।
स्वतन्त्र भएर चुनाव जित्नेमा योगेन्द्र मण्डल (मोरङ–५),अमरेशकुमार सिंह (सर्लाही–४), किरण साह (रौतहट–२), प्रभु साह (रौतहट–३) र बर्दिया २ मा लालवीर चौधरी रहेका छन् ।
मोरङ ५ बाट विजयी भएका मण्डल एमालेका नेता हुन् । एमालेले जसपासँग चुनावी तालमेल गर्दा उक्त क्षेत्र जसपाको भागमा परेपछि उनले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवार दिएका थिए ।
स्वतन्त्र उम्मेदवार मण्डल २१ हजार ८२० मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डललाई ४३३४ मतान्तरले पराजित गरेका हुन् । पराजित भएका मण्डलले १७ हजार ४८६ मत ल्याएका छन् ।
यस्तै नेपाली कांग्रेसले टिकट नदिएपछि सर्लाहीको क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंह निर्वाचित भएका हुन् । पार्टीले टिकट नदिएपछि उनी आफ्नै पार्टीका उम्मेदवारको विरुद्धमा चुनाव लडेका थिए ।
२०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका अमरेशकुमारले आफ्नै पार्टीका नरेन्द्र कुमारलाई १७६४ मतान्तरले पराजित गरेका हुन् । अमरेशकुमार सिंह २० हजार १७ मत ल्याई विजयी हुँदा नागेन्द्र कुमारले १८ हजार २५३ मत ल्याएका छन् ।
रौहतटको क्षेत्र नम्बर २ र ३ मा एमालेसँग असन्तुष्ट रहँदै स्वतन्त्र उम्मेदवारी दिएका किरण शाह र प्रभु साह निर्वाचित भएका छन् । एमालेले दुवैलाई टिकट दिएपछि मनोनयन दर्ताको दिन पार्टीसँग असन्तुष्ट जनाउँदै उनीहरुले स्वतन्त्र उम्मेदवार दिएका थिए ।
रौतहट २ मा स्वतन्त्र उम्मेदवार किरणकुमार साह ३२ हजार ८४२ मत ल्याई विजयी भएका हुन् । पराजित भएका नेपाली कांग्रेसका मो. फिरदोस आलमले २८ हजार २४८ मत ल्याएका थिए । क्षेत्र नं ३ मा स्वतन्त्र ओमप्रकाशलाई ७२३७ मतान्तरले पराजित गर्दै प्रभु साह विजयी भएका हुन् । साहले ३२ हजार ४३७ मत ल्याउँदा ओमप्रकाशले २५ हजा २०० मत ल्याएका छन् ।
यस्तै बर्दियाको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्न नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी रेशम चौधरीका बुबा हुन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि लालवीर स्वतन्त्र उम्मेदवार बनेका थिए ।
लालविर चौधरी २६ हजार ५२० मत ल्याई विजयी हुँदा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले २६ हजार ३८४ मत ल्याएका छन् । उनीहरुबिच १३६ को मतान्तर छ ।