Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश-१ मा कुन दलबाट कस्ता नेता बन्दै छन् समानुपातिक संसद ? (सूचीसहित)


  • Purbeli Press
  • सोमबार, मंसिर १९ २०७९

विराटनगर : प्रदेश १ को समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचन आयोगले कुन दलले कति सिट पाउने भन्ने सार्वजनिक गरिसकेको छ ।

समानुपातिकमा १८ लाख ९९ हजार १४४ मत सदरमत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत पाएको छ । यस्तै नेपाली काँग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादीले ५५ हजार ९५७ मत पाएका छन् ।

निर्वाचन आगोगका अनुसार नेकपा एमालेले १५ सिट पाएको छ । नेपाली काँग्रेसले १२, नेकपा माओवादी केन्द्रले ४, राप्रपाले ४, जनता समाजवादी पार्टी र नेकपा एसले समान १–१ सिट पाएका छन् । एमालेले प्रत्यक्षमा २५, कांग्रेसले १७, माओवादीले ९, नेकपा एसले ३ र राप्रपाले २ सिट पाएका छन् ।

प्रदेशसभामा ३३ प्रतिशत महिला सहभागिता पुर्याउन अब दलहरूले समानुपातिकबाट चुनिने ३७ मध्ये ३१ जना महिला पठाउनुपर्ने हुन्छ ।

आफूले पाएको सिटअनुसार दलहरूले नाम छनोट गर्दा आदिवासी जनजाति ४६.७९, खस–आर्य २७.८४, थारू ४.१५, दलित १०.०६, मधेसी ७.५७ र मुस्लिम ३.५९ प्रतिशत पठाउनुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट १७.५३ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएका क्षेत्रबाट ०.४४ प्रतिशत नाम समावेश हुनुपर्छ ।

एमालेबाट सम्भावित समानुपातिक संसद
१५ सिट पाएको नेकपा एमालेले १३ जना महिला अनिवार्य पठाउनुपर्ने छ । १३ जना महिलामध्ये ६ जना आदिवासी जनजाति महिला, ४ जना खस आर्य महिला, मधेशी, दलित र थारुमा एक÷एक जना महिला समानुपातिकबाट पर्ने देखिन्छ । यस्तै पुरुषतर्फ खस आर्य र जनजातिबाट एक/एक जना पर्ने देखिन्छ ।

आदिवासी जनजाति महिलामा सिर्जना दनुवार (उदयपुर), कमला थापा मगर (झापा), मिना श्रेष्ठ (सुनसरी), सिर्जना राई (भोजपुर) , मालती सुब्बा (मोरङ) र यशोदा कायस्थ (सुनसरी) पर्नेछन् । यस्तै ४ जना खस आर्य महिलातर्फ शिला दीक्षित कार्की (मोरङ), तारादेवी ढकाल (झापा), मिरादेबी खनाल (सुनसरी) र गितादेवी रेग्मी (उदयपुर) रहेका छन् ।

यस्तै, थारु महिलामा मोरङकी ललिताकुमारी चौधरी पर्नेछिन् । यस्तै दलित र मधेसी महिलाबाट क्रमशः कमलादेवी दर्नाल (तेह्रथुम) र गितारानी महतो (झापा) पर्नेछन् ।

पुरुषतर्फ खस आर्य कोटाबाट ओखलढुंगाका किशोर अधिकारी पर्नेछन् । जनजाति पुरुषबाट पाँचथरका श्रीप्रसाद जबेगु प्रदेशसभा सदस्य हुनेछन् ।

कांग्रेसबाट को–को
समानुपातिकमा १२ सिट पाएको नेपाली कांग्रेसले ५ जना आदिवासी जनजाति महिला, ३ जना खस आर्य महिला, मधेशी र दलितमा एक/एक जना महिला गरी १० जना महिलालाई समानुपातिक संसद बनाउनुपर्ने छ । यस्तै पुरुषतर्फ खस आर्य र जनजातिबाट एक/एक जना पर्ने देखिन्छ ।

आदिवासी जनजाति महिलाबाट मैया श्रेष्ठ (पाँचथर), डोल्मा तामाङ (सोलुखुम्बु), लिलाकुमारी राई (उदयपुर), कमला राई (खाटाङ) र ममता मगर तामाङ (सुनसरी) संसद बन्नेछन् । यस्तै खस आर्य महिलामा इन्दिरा थापा (धनकुटा), खगेश्वरी पौडेल (इलाम) र सुमना तिम्सिना (धनकुटा) पर्नेछन् ।

मधेसी महिलाबाट झापाकी लखिकुमारी गणेश र दलितबाट सुनिता कुमारी तामाङ समानुपातिकबाट संसद बन्नेछन् । खसआर्य पुरुषतर्फ झापाका उद्धव थापा र आदीवासीतर्फ झापाका मोहन महर्जन संसद बन्नेछन् ।

अन्य दलबाट को–को ?
समानसुपातिकबाट ४ संसद पाएको माओवादी केन्द्रले ४ जनै महिला पठाउनुपर्नेछ । माओवादीबाट दुईजना जनजाति महिला, एक खस आर्य र एक दलित संसद बन्नेछन् ।

जनजाति महिलाबाट बन्दना मगर (झापा) र सम्झाना तामाङ (उदयपुर), खस आर्यबाट गीता तिम्सिना (मोरङ) र दलितबाट सुनसरीकी सपना दर्जी संसन बन्नेछिन् ।

दुई सिट महिला प्रत्यक्षमा जितेको राप्रपाले समानुपातिकमा एक जना जनजाति महिला, दुई जनजाति पुरुष र खस आर्यबाट एक जना पुरुष पठाउने छ । जनजाति महिलाबाट निमसरी राजवंशी (झापा), जनजाति पुरुषबाट प्रेमराज थाम्सोहाङ (पाँचथर), आङ्गेल्बु शेर्पा (सोलुखुम्बु) र खस आर्यबाट झापाका अम्बरबहादुर बिष्ट पर्ने देखिन्छ ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समानुपातिकमा एक/एक सिट पाएका छन् । नेकपा एसले समानुपातिकबाट महिला जनजातिलाई समावेश गराउँदा मोरङकी विद्या चाम्लिङ राई संसद बन्नेछिन् । जसपाबाट सुनसरीका भीमबहादुर राई संसद बन्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार