विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसकी सुजता कोइरालालाई १२०८ मतको अन्तरले पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
पोखरेल ३३१४८ मत ल्याइ विजयी भएका हुन् । पराजित भएकी कोइरालाले ३१९४० मत ल्याएकी छिन् ।
कोइराला नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका गिरिजाप्रसाद कोइरालाको छोरी हुन् । गिरिजाले यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्रीसम्म भए ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पाखरेल २०७० को संविधानसभा निर्वाचनमा सभासद निर्वाचित भएका थिए । त्यसबेला उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई चुनाव हराएका थिए । पोखरेल २०७४ को प्रतिनिधिसभा सदस्यमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।
उनले २०४२ सालमा कसेनीस्थित मार्कसवादी अध्ययन केन्द्रको सदस्य भएर विद्यालयकालबाट राजनीति सुरु गरेका थिए । २०५४ सालमा उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य भएका थिए । उनले अनेरास्ववियुको सचिवालय सदस्यको जिम्मेवारीसमेत पाएका थिए । २०४७ मा एमालेको जिल्ला कमिटी सदस्यबाट पार्टी राजनीति सुरु गरेका उनी अहिले माेरङ जिल्ला अध्यक्षकाे दोस्रो कार्यकालमा छन् ।