Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको विकासका लागि महानगरको नेतृत्व एमालेले गर्नुपर्छ



विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले विराटनगरको विकासका लागि नेकपा एमालेले महानगरको नेतृत्व लिन आवश्यक रहेको बताएका छन् ।

१३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता बरालले बैसाख ३० गतेको निर्वाचन पछि महानगरले एमालेको नेतृत्व पाउने समेत विश्वास ब्यक्त गरे । उनले भीम पराजुली नेतृत्वको महानगरले पूर्व मेयरले गरेका काम र संघीय सरकारले गरेका कामलाई देखाएर भजाउने काम मात्र गरेको बताए । उनले महानगरको चौतर्फी विकासको लागि नेकपा एमालेको नेतृत्व चाहिन्छ, त्यो कुरा महानबासीले बुझेको दाबी गरेका छन् ।

उनले  राजनितिक कालखण्डमा मजदुरले निर्वाह गरेको भूमिकाको चर्चा गरे।  यस्तै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले सत्ता गठबन्धनले महिलाका संवैधानिक, राजनितिक अधिकार हनन गरेको बताए । स्थानीय तहको प्रमुख तथा उपप्रमुखक मध्ये एक महिला हुनुपर्ने प्रावधानलाई कुल्चिदै गठबन्धनको नाममा महिलामाथि विभेद गरेको आरोप लगाए ।

नेकपा एमालेका केन्द्रीय  सदस्य तथा प्रदेशका सह इन्चार्ज विनोद ढकालले राष्ट्रिय राजनितिमा पनि विराटनगरका मजदुरहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै सदैव मजदुरका पक्षमा रहने पार्टी भनेकै नेकपा एमाले रहेको दाबी गरे । उनले मजदुरहरुका हकअधिकारलाई सुनिश्चित गर्न पनि नेकपा एमालेकै नेतृत्व चाहिने भन्दै केपी ओली नेृतत्वको सरकारले मजदुरका पक्षमा ल्याएका योजनाहरुको चर्चा गरे ।

नेता ढकालले विराटनगरकै माटोमा हुर्के बढेको र श्रमिक मजदुरहरुकै माझबाट राजनितिमा सक्रिय युवा नेता सागर थापालाई महानगरको मेयरको उम्मेदवार बनाइएको भन्दै नेतृत्वमा पु¥याएर आ–आफ्नो अधिकारलाई बुलन्द गर्न आग्रह गरेका छन् । सभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार तथा एमाले महानगरका अध्यक्ष सागर थापाले विराटनगरको विकासका लागि कुशल नेतृत्व छान्न नसक्दा नै देशको दोस्रो ठूलो सहर आज छैटौं स्थानमा पुगेको बताए। उनले उद्योगहरुको सहर, मजदुरहरुको सहर आज कता पुग्दैछ भन्दै यहाँ श्रमिकले श्रम गर्ने ठाउँ नपाइरहेको बताए ।

भएका उद्योगहरु धाराशायी बन्दै जानु नयाँ उद्योगहरु थपिन नसक्नु दुःखद भएको भन्दै उहाँले आफुहरु नेतृत्वमा आए विराटनगरका उद्योगहरुलाई प्रवद्र्धन गर्दै श्रमिक मजदुहरुपनि स–सम्मान बस्न पाउने वातावरणको सृजना गर्ने बताउनुभयो । उहाँले विपन्नताको पहिचान गरेर निशुल्क बीमाको व्यवस्था गर्ने बताए । ‘हामी स्वास्थ्य शिक्षाको सहज पहुँचमा पुर्‍याउन चाहन्छौं, थापाले भने,‘धनिका छोराछोरी निजी र गरिबका सरकारीमा पढ्ने वातावरणको अन्त्य गर्न सामुदायिक विद्यालयलाई निजी भन्दा उत्कृष्ट बनाउने अभियानमा लाग्नेछौं ।’

खेलाडी उत्पादनको लागि उर्वर भूमी विराटनगरले नयाँ खेलाडिको उत्पादन गर्न नसकेको मात्र नभई भएका खेलाडिहरुलाई पनि डम्पिङमा राखेको आरोप लगाउँदै उनले आफुहरु नेतृत्वमा आए सम्पूर्ण खेलाडी र खेल क्षेत्रको विकासमा लाग्ने बताए । विराटनगरको ठूलो समस्या डुवान रहेको चर्चा गर्दै त्यसको दिर्घकालिन समाधान खोजिने र महानगरको पूर्व पश्चिमका रहेका दुई खोलामा आवश्यक तटबन्ध निर्माण गर्ने र मध्ये भागमा रहेको नहरलाई सौन्दर्यकरण गर्ने बताए ।

राजनितिक रुपमा विराटनगर महानगरपालिका भएपनि आर्थिक र विकासका दृष्टिले हुन सकेको नसकेको तर्क गर्दै उम्मेदवार थापाले भने,‘महानगरभित्र अझै बिजुलीका पोल पुगेका छैनन, चप्पल खोलेर हिड्नुपर्ने अवस्था मा छौं । हामी ५ वर्षभित्र यस्ता समस्या समाधान गर्न चाहन्छौं ।’ जनताले निर्वाचित गर्ने भनेकै विकासका लागि हो, जनताका आधारभूत चाहना पूरा गर्ने अपेक्षाले हो भन्दै उहाँले  महानगरमा रहेका करिब २० हजार सुकुम्बासीको व्यवस्थित आवास बनाउने बताए ।

यस्तै महानगरपालिकाको उपमेयरको उम्मेदवार शिल्पा निराला कार्कीले आफुहरु सदैव मजदुरको पक्षमा रहने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्कीले देशको विकासको लागि, उत्पादनसँग जोडिएर यदि कसैको महत्वपूर्ण योगदान छ भने त्यो मजदुरकै रहेको भन्दै उनले तर तिनै मजदुर सदियौंदेखि आफ्नो हकअधिकारकै लागि लडिरहनुपर्ने अवस्था रहनु दुःखद रहेको बताए। उनले भने, ‘विराटनगर महानगर औद्योगिक क्षेत्र हो । यहाँको मजदुर आन्दोलनले नै अहिले हामी यहाँ छौं । तर हिजो स्थानीय सरकारले ति मजदुरहरुको आवाज कत्तिको सुन्यो त्यो तपाईहरुलाई नै थाहा होला ।’

उनले आफुहरु नेतृत्वमा आए सम्पूर्ण मजदुरका आवाजलाई सम्बोधन गर्ने बताएका छन् उनले आफु पनि उद्योग व्यवसायमा जोडिएको मान्छे रहेको बताउँदै आफुले मजदुरका समस्याहरुलाई राम्ररी बुझेको बताए । उनले भने, ‘हामीलाई विश्वास गर्नुहोस्, हामी सदैव मजदुरका पक्षमा उभिने प्रण गर्दछौँ । मजदुर दिवसको सवैमा शुभकामना ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार