विराटनगर : मोरङ क्षेत्र नम्बर-२ को मत परिणाम रोचक बन्दै गएको छ । एकले अर्कोलाई उछिन्ने होडले परिणाम रोचक बनेको हो ।
यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले धेरैजसो अग्रता लिएका छन् । पोखरेललाई घरीघरी सुजता कोइरालाले उछिन्ने गरेकी छिन् । पछिल्लो मत परिणाम अनुसार पोखरेल अग्रस्थानमा छन् ।
निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार पाखरेलले ९ हजार ७३६ मत ल्याएका छन् । उनले कोइरालालाई ३६९ मतले पछि पारेका छन् । सुजाताले ९ हजार ३६७ मतका साथ पोखरेललाई पछ्याइरहेकी छिन् ।
नेकपा एमालेका नेता भाष्कर खनालले परिणामले मतगणना स्थल रोचक बन्दै गएको बताए । रतुवामाई ७ स्थित विश्वनाथ मन्दिरमा मतगणना भइरहेको छ । गणनास्थल बाहिर राजनीतिक दलका नेता, कार्यकर्ताहरुमा उत्सुकता देखिएको खनालको भनाइ छ ।
यो क्षेत्र सुजताका पिता गिरिजाप्रसाद कोइरालो चुनाव जित्दै आएको क्षेत्र हो । गिरिजा यो क्षेबाट लगातार तीनपटक निर्वाचित भएका थिए । सुजता आफ्ना पिताले सुरु गरेको अधुरा काम पुरा गर्न आफू गर्न र बाबुको विरासत जोगाउन चुनावी प्रतिस्पर्धामा आएकी हुन् ।
यस्तै प्रदेश (१) मा माओवादी केन्द्रका गणेश उप्रेती ‘शुशील’ ले अग्रता लिएका छन् । उप्रेतीले ३७४१ मत ल्याएका छन् । उनका निकटतम प्रतिन्वन्दी नेकपा एमालेका दानबहादुर कार्कीले ३४४३ मत ल्याएर पछ्याइरहेका छन् ।
प्रदेश (२) मा नेकपा एमालेका लिलाबल्लभ अधिकारी ६४२१ मतका साथ अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका विनोद कार्की ५२६९ मत ल्याएर दोस्रो स्थानमा छन् ।