विराटनगर : ६ संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा नेकपा एमाले र कांग्रेसले दुई दुई क्षेत्रमा अग्रता बनाएका छन् । माओवादी र स्वतन्त्र उम्मेदवारले एकएक क्षेत्रमा अग्रता कायम राखेका छन् ।
मोरङ क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले सुरुवाती अग्रता कायम राखेका छन् । उनले ७०२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बु ६५५८ ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल श्रेष्ठले ३२३३ र राप्रपाका होमनाथ गौतमले २००७ मत ल्याएका छन् ।
क्षेत्र नं २ मा एमालेका ऋषिकेश पोखरेल ८७३९ मतका साथ पहिलो स्थानमा छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला ८५३९ मत ल्याएर पछ्याइरहेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र न्यौपानेले ८१९, राप्रपाका गोपाल दाहालले ४५६ मत ल्याएका छन् ।
मोरङ क्षेत्र नं ३ मा भने नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा १०७९५ मत ल्याई अग्रस्थानमा छन् । उनलाई एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन् । ढकालले ६४८८ मत ल्याएर साथ दोस्रो स्थानमा रहँदा राप्रपाकी रेखा थापा २३५६ मतका साथ तेस्रो स्थानमा छिन् ।
क्षेत्र नं ४ मा माओवादी केन्द्रका अमनलाल मोदी अग्रस्थानमा छन् । उनले १५८०९ मत ल्याउँदा एमालेका विनोदप्रसाद ढकाल ८८५८ मतका साथ दोस्रो स्थानमा छन् ।
क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायम राखेका छन् । उनले १२०३५ मत पाएका छन् । माओवादीका शिवकुमार मण्डलले ९११९ मत ल्याएका छन् भने जनता समाजवादीका राजकुमार यादवले ८४७० मत ल्याएका छन् ।
नेपाली कांग्रेसका डा. शेखर कोइराला मोरङ क्षेत्र नं ६ मा अग्रता बनाएका छन् । कोइरालाले ९६८६ र उनका प्रतिद्वन्द्वी एमालेका लालबाबु पण्डितले ८०२७ मत ल्याएका छन् ।