विराटनगर : ६ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको मोरङमा नेकपा एमाले र कांग्रेसले दुईदुई क्षेत्रमा अग्रता कायम राखेका छन् । नेकपा माओवादीले र स्वतन्त्र उम्मेदवारको एकएक क्षेत्रमा अग्रता छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार मोरङ क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले अग्रता कायम राखेका छन् । उनले २२४१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बु १६०३ ल्याएका छन् ।
क्षेत्र नं २ मा एमालेका ऋषिकेश पोखरेल २७०० मतका साथ पहिलो स्थानमा छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला २३२८ मत ल्याएर पछ्याइरहेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र न्यौपानेले २८८, राप्रपाका गोपाल दाहालले १८५ मत ल्याएका छन् ।
मोरङ क्षेत्र नं ३ मा भने नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा ११०४ मत ल्याई अग्रस्थानमा छन् । उनलाई एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन् । ढकालले ५३९ मत ल्याएर साथ दोस्रो स्थानमा रहँदा राप्रपाकी रेखा थापा २४२ मतका साथ तेस्रो स्थानमा छिन् ।
क्षेत्र नं ४ मा माओवादी केन्द्रका अमनलाल मोदी अग्रस्थानमा छन् । उनले ५७९२ मत ल्याउँदा एमालेका विनोदप्रसाद ढकाल ४१४९ मतका साथ दोस्रो स्थानमा छन् ।
क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायम राखेका छन् । उनले ३६९३ मत पाएका छन् । उनलाई जनता समाजवादीका राजकुमार यादव र माओवादीका शिवकुमार मण्डलले पछ्याइरहेका छन् । यादवको ३२९४ मत र मण्डलको ३१२२ मत छ ।
नेपाली कांग्रेसका डा. शेखर कोइराला मोरङ क्षेत्र नं ६ मा अग्रता बनाएका छन् । कोइरालाले १७७७ र उनका प्रतिद्वन्द्वी एमालेका लालबाबु पण्डितले १६३२ मत ल्याएका छन् ।